ग्रेस सहकारीको प्रथम वार्षिक साधारणसभा सम्पन्न, नमुना सहकारी भएको गाउँपालिका अध्यक्ष राईको उद्घोष
सोलुखुम्बु, २० असोज । माप्य दुधकोशी गाउँपालिकामा सञ्चालित ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । साधारण सभाबाट सहकारीको आर्थिक वर्ष २०७९/०८० को समग्र आय व्याय तथा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । सोही अवसरमा सहकारीको खास्तापमा अवस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटनसमेत गरिएको छ ।
संस्थाका अध्यक्ष ज्ञान बहादुर राईको अध्यक्षता, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष गौरब राईको विशेष आतिथ्यतामा शनिबार खास्तापस्थित गाउँसभा हलमा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
व्यवसायिक तथा उत्पादन मुलक क्षेत्रको लगानीलाई बढावा दिदैं सहकारीले आफ्नो गतिविधिहरु अगाडि बढाइरहेको सहकारीका अध्यक्ष ज्ञानबहादुर राईले जानकारी दिनुभयो । उहाँले शेयर सदस्यहरुको चाहाना र आवश्यकतालाई ध्यानमा राखेर हरेक कुरालाई प्रविधिमैत्री बनाउँदै लगिएकोसमेत बताउनुभयो । अध्यक्ष राईकाअनुसार आफ्नो स्थापनादेखि १ करोड २८ लाख रुपैयाँ बराबरको प्रत्यक्ष कारोबार गरेको संस्थाको चुक्ता पुजी ४० लाख ४३ हजार रहेको छ । हाल १ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको र हालसम्म कुनैपनि कर्जामा समस्या नभएको भनाइ उहाँको छ ।
७१ जना बोर्ड सदस्य र १८५ जना शेयर सदस्य गरी हालसम्म यो सहकारीको शेयर सदस्य संख्या जम्मा २६० जना रहेको छ । जसमा गाउँपालिकाका सातै वटा वडाहरुको प्रतिनिधित्व गराइएको छ । अब चाँडै नै वाकुमा सेवा केन्द्र स्थापना गर्नेगरी छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । थुप्रै वित्तीय संस्थाहरु सञ्चालनमा रहेपनि ग्रेस सहकारी गाउँपालिकाकै नमुना रुपमा सञ्चालन भइरहेको भन्दै उहाँले गाउँपालिकाको तर्फबाट नीतिगत र आवश्यकताको आधारमा हरेक सहयोग गर्ने बचनबद्धतासमेत व्यक्त गर्नुभयो ।
अध्यक्ष राईले सहकारी ऐन र गाउँपालिकाले अवलम्बन गरेको सबैखाले नीति तथा कार्यक्रमलाई मर्यादित रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । गे्रस सहकारीले छोटो समयमा प्राप्त गरेको सफलताका लागि बधाई ज्ञापन गर्दै उहाँले आगामी दिनमा सञ्चालन समिति तथा शेयर सदस्यलाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।कर्जा प्रवाहमात्रै नभएर व्यवसायमा लगानी गर्न आग्रह गर्दै अध्यक्ष राईले विकासका लागि सहकारी र गाउँपालिकाबीच साझेदारी गर्न सकिने भनाइ उहाँको थियो ।
गाउँपालिका उपाध्यक्ष गौरब राईले सहकारी समृद्धिको आधार भएकोले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको माध्यमबाट गाउँपालिकाले लिएको थुप्रै सपनाहरु पूरा गर्न सकिने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वसहित व्यवसायिक, रोजगारमूलक एवं यूवा लक्षित कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।
हिमालय मावि हाँकुलाका प्रधानाध्यापकसमेत रहनुभएका सहकारीका सल्लाहकार सदस्य नवराज राईले ग्रेस सहकारीले गाउँपालिका स्तरमा सबैलाई समेटेर नमुना रुपबाट आफुलाई स्थापित गरिरहेको उल्लेख गर्दै सहयोग गर्न गाउँपालिकासँग आग्रह गर्नुभयो ।
सहकारी सञ्चालक समितिकी उपाध्यक्ष बरमाया राईले सहकारीको आर्थिक आय/व्याय प्रस्तुत गर्दै सहकारीले निकट भविष्यमै आफ्नै व्यवसायिक भवन निर्माण गर्ने, सहकारीको हरेक गतिविधिलाई प्रविधिमैत्री बनाउने, क्षमता अभिबृद्धि गर्ने कार्यक्रम तय गर्ने, शेयर सदस्यहरुको विश्वास आर्जन गर्दै थप नयाँ योजनाका साथ अघि बढ्नेलगायतको कार्ययोजना रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रकुमार यादव, वडा अध्यक्ष चन्द्र बहादुर राई, हिमालय माविका प्रधानाध्यापक देवी कुमारी राई, कृषि विकास बैंक नासाका प्रमुख टेकनारायण दासलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सहकारी सञ्चालक समितिकी सचिव सतमाया राईले स्वागत मन्तब्य र लेखा समिति सदस्य प्रेमकुमार राईले सहकारीको विषयमा चर्चा गर्नुभएको थियो ।
साधारण सभामा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न वितीय संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजिवी एवं व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सुरुमा सानो बचत समुहबाट सञ्चालन भएको यसले अहिले सहकारीको रुप लिएको हो ।