माप्य दुधकोशीमा स्वास्थ्य क्षेत्रको वार्षिक समिक्षा सम्पन्न, परिणाममुखी काम गर्न अध्यक्ष राईको निर्देशन
सोलुखुम्बु। माप्य दुधकोशी गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन भएको छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरव राई, वडा अध्यक्षहरुका साै जनप्रतिनिधिहतुको उपस्थितिमा आइतबार सो समिक्षा गोष्ठी सम्पन भएको हो ।
गोष्ठीमा गाउँपालिकाको सातै वटा वडाको स्वास्थ्य संस्थामार्फत आर्थिक वर्ष २०७९/०८० मा भएका सेवा प्रवाह, समस्या र त्यसका समाधानका उपायहरुको विषयमा गम्भीर समिक्षा भएको छ ।
समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बुद्दिकिरण राईले प्रत्येक स्वास्थ्य संस्थाहरु को नियमित बैठक राख्न, समस्याको पहिचान गरी त्यसको समाधानका लागि तततत् निकायसँग समन्वय गर्न, भएका जनशक्तिको अधिकतम् परिचालन गर्न र जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।
नीतिगत समस्या फुकाउन आफूहरुले कुनै पनि कसर बाँकी नराखी काम गर्ने उल्लेख गर्दै उहाँले सबै स्वास्थ्य संस्थाहरु संस्थागत भएर परिणाममुखी काममा लाग्नुपर्ने जोड दिनुभयो ।
अध्यक्ष राईले चाडै सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई क्रियासिल बनाएर लैजानका लागि गाउँपालिका स्तरीय कार्यक्रम गरिने बताउँदै त्यसको लागि तयारी गर्न गाउँपालिका प्रशासनलाई निर्देशन दिनुभयो ।
उपाध्यक्ष गौरव राईले समाजलाई समृद्ध बनाउनका लागि स्वास्थ्य क्षेत्र पहिलो आधार भएको र त्यसमा पनि स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । स्वास्थ्य संस्थाहरुले गर्ने सबैखाले कार्यहरू व्यवस्थित हुनुपर्ने भन्दै व्यवस्थित अभिलेखमासमेत ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रकुमार यादवले स्वास्थ्य संस्थाहरुले समयमा कार्य प्रगति विवरण अपडेट गर्नुपर्ने र आकस्मिक रुपमा आइपर्ने समस्याको समाधानका लागि गाउँपालिका तथा सम्बन्धित जनप्रतिनिधिहरुसँग समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष सज्जन राई, वडा नं २ का वडा अध्यक्ष चन्द्र बहादुर राई, वडा नं ४ का वडाध्यक्ष भक्त राई, वडा नं ५ का वडा अध्यक्ष अविरल वाईवा, वडा नं ३ का कार्यवाहक वडा अध्यक्ष बाल कुमार राई, कार्यपालिका सदस्य प्रकाश खालिङ र मेलिना राईलगायतका उपस्थिति रहेको थियो ।
जनगुनासो, स्वास्थ्य क्षेत्रको समस्या तथा आगामी कार्ययोजनाको बारेमा चर्चा गरिएको उक्त समिक्षाबाट हिजोको कमजोरीलाई सुधार्दै थप प्रभावकारी काम गर्ने निष्कर्ष निकालेको स्वास्थ्य शाखा प्रमुख जयमाया तामाङले बताउनुभयो ।