बासाखाली माविमा ब्वाईज होस्टलको शिलान्यास, प्राविधिक शिक्षालयको लागि गाउँपालिकाबाट २० लाख विनियोजन गर्ने घोषणा
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नं. २ राप्छामा अवस्थित बासाखाली माध्यमिक विद्यालयको छात्रवास (ब्वाईज होस्टेल)को शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) खालिङ संस्कारअनुसार च्यरी जेन्यसँगै सम्पन्न एक समारोेहबीच संघीय सांसद मानबीर राई, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरब राई र दातृ संस्था रिहेल्पका प्रमुख फाउण्डर रिना कोजले संयुक्त रुपमा छात्रवासको शिलान्यास गर्नुभएको हो ।
दातृ संस्था रिहेल्पको आर्थिक सहयोग तथा गाउँपालिकाको प्राविधिक एवं प्रशासनिक सहयोगमा भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवन निर्माण हुनेछ । रिहेल्पकै आर्थिक सहयोगमा यसअघि गल्स होस्टलको भवन निर्माण सम्पन्न भई अहिले सुनौलो शिक्षा नेपालसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको छ ।
यसैबीच, विद्यालयमा निर्मित सरस्वती मन्दिरको पण्डित विक्रम घिमिरेद्वारा विधिवत रूपमा पूजापाठ गरेपछि सरस्वतीको मूर्ति भित्र्याई औपचारिक उद्घाटन गरिएको छ । सरस्वती मन्दिर अघिल्लो आर्थिक वर्षको गाउँपालिकाको बजेटबाट निर्माण गरिएको हो भने सरस्वतीको मुर्ती भने सफल व्यवसायी तथा समाजसेवी रुद्र बहादुर घतानी र राजेश घतानीबाट सहयोग प्राप्त भएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले शैक्षिक उन्नयनको लागि सबैले आआफ्नो ठाउँबाट पहल लिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफु पनि यस विद्यालयको भूतपूर्व विद्यार्थी हुनुको नाताले विद्यालयको हरेक गतिविधिमा भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरीयतामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनका लागि छात्रवास अति आवश्यक रहेको भन्दै सहयोगी संस्था र समन्वयकर्तालाई धन्यवाद दिनुभयो । उहाँले यसको व्यवस्थापन तथा सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले विद्यालयको अपुरो योजनामा आवश्यकताअनुसार बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
एक अर्को प्रसंगमा अध्यक्ष राईले बासाखली माविमा प्राविधिक शिक्षा पठनपाठन सुरुवात गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममामार्फत सम्बोधन भइसकेको पूर्वयोजनालाई आउँदो आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने घोषणासमेत गर्नुभयो । उहाँले प्राविधिक शिक्षालय सञ्चालनको लागि आगामी आर्थिक वर्षको बजेटमार्फत २० लाख रुपैयाँ विनियोजन गर्ने बचनवद्धतासमेत गर्नुभयो ।
यस माविमा कृषि विषय पठनपाठन सञ्चालन गर्नका लागि केही वर्षअघि नै गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत पारित भई प्रक्रिया अघि बढाइएपनि आवश्यक बजेटको व्यवस्था हुन सकेको थिएन । अध्यक्ष राईको बजेट विनियोजन गर्ने घोषणाबाट अब त्यसले सार्थकता पाउने निश्चित भएको छ ।
गाउँपालिका उपाध्यक्ष गौरब राईले बासाखली माविले आफुलाई हरेक क्षेत्रमा अब्बल सावित गरिरहेको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्य गर्न आफु सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।
रिहेल्पका प्रमुख फाउण्डर रिना कोजले राप्छा र सिंगो राप्छाबासीसँग आफ्नो गहिरो सम्बन्ध रहेको चर्चा गर्दै सबैको सहयोगबाट छात्रवास निर्माण सम्पन्न गरेर आवश्यकताअनुसार अन्य योजना अघि बढाउने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा संघीय सांसद, गाउँपालिका अध्यक्ष, उपाध्यक्षसँगै स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा विद्यालयको तर्फबाट छात्रवास निर्माणमा आर्थिक सहयोग गर्ने दातृ संस्था रिहेल्पलाई विशेष सम्मान गरिएको थियो ।