Logo

राष्ट्रियसभा निर्वाचनका लागि २०४७ जना मतदाताको नामावली स्वीकृत


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जनागरी कूल २०४७ जनाको नामावली स्वीकृत भएको हो ।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ। पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने पनि आयोगले आफ्नो कार्यतालिकामा राखेको छ।

निर्वाचनको मिति माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको कार्य सञ्चालन गर्ने आयोगले तयारी गरेको छ।

प्रकाशित मिति : बुधबार, ४ पुष २०८० १७:०६
प्रतिक्रिया दिनुहोस्