Logo

खालिङ संस्थाद्धारा आदिम पूर्खा निन्वाम रिदम र ख्वाम्दाको छायाँचित्र सार्वजनिक !


काठमाडौं । किरात खालिङहरुको आदिम पूर्खा निन्वाम रिदम र ख्वाम्दाको छायाँचित्र सार्वजनिक गरिएको छ । किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिसँगको सहकार्यमा अमेरिका र युके शाखाको संयुक्त परिकल्पना तथा आर्थिक सहयोगमा निर्मित उक्त छायाँचित्रको विहिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको हो ।
उक्त छायाँचित्रको औपचारिक लोकार्पण सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद मानबीर राईले गर्नुभएको हो । खालिङहरुको पूर्खा (बाजे) माप्य र दिक्प्यको छायाँचित्र पनि यसअघि लोकार्पण गरिसकिएको छ । माप्य र दिक्प्यसँगै निन्वाम रिदम र ख्वाम्दाको छायाँचित्र चित्रकार राजकुमार खालिङ र कन्चन तामाङ खालिङले तयार पार्नुभएको हो ।

छायाँचित्र लोकार्पण समारोहलाई सम्बोधन गर्दै सांसद राईले छायाँचित्रको परिकल्पना र त्यसलाई उतारेर सार्वजनिक गर्नु ऐतिहासिक कदमको रुपमा चर्चा गर्नुभयो । समुदायलाई बधाई ज्ञापन गर्दै सांसद राईले भाषा, भेषभूषा र संस्कृति संरक्षणमा विभिन्न तवरबाट भइरहेका पहल प्रयासहरु अझै जारी रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो तर्फबाट सम्भव भएसम्म सहयोग गर्ने बचनबद्धतासमेत व्यक्त गर्नुभयो ।

माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरब राईले समुदायलाई जागरुक बनाउँदै आफ्नो अस्तित्व र पहिचान स्थापित गर्नका लागि यसखालको प्रयास कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । संस्थागत रुपमा अघि बढाइएका सबैखाले कार्यहरु सह्रानीय रहेको उल्लेख गर्दै उहाँले आवश्यक सहयोग र सहकार्य गर्न गाउँपालिका सरकार तत्पर रहेको बताउनुभयो ।

किरात खालिङ राई उत्थान संघ अमेरिका शाखाका अध्यक्ष मकर खालिङले समुदायको अस्तित्व र पहिचान उजागर गर्दै सबैलाई एकताको सुत्रमा बाध्नका लागि लागि यो परिकल्पना गरिएको उल्लेख गर्दै र यो काममा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले हामी को हौं र कहाँबाट उत्पति भयौं भन्ने विषयमा आउने पुस्तालाई यो परिकल्पना एउटा महत्वपूर्ण आधार बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष सिताकुमारी खालिङको अध्यक्षता तथा सांसद मानबीर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरब राई, संस्थाका पूर्व अध्यक्षहरु विसन राई, रामरतन राई, किरात राई यायोक्खाका कोषाध्यक्ष पर्शुराम राईलगायत संस्थाका संरक्षक, सल्लाहकार, पूर्खाहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुहरुको उपस्थिति रहेको थियो ।

को हुन् निन्वाम रिदम र ख्वाम्दा ?
खालिङहरुले आदिम पूर्खाको रुपमा मान्ने निन्वाम रिदम र ख्वाम्दाको बारेमा लामो कथा छ । त्यो कथा यहाँ उल्लेख गर्दा धेरै लामो हुने र अधिकांश शब्दहरु खालिङ मुन्धुमी (पूर्खा) भाषामा हुने भएकाले यहाँ प्रस्तुत गर्न सहज भएन । त्यसैले सारंशमा निन्वाम रिदम के हो र कहाँबाट आएको भन्ने कुरा यसरी बुझौं ।

सरम्य र मरम्यको सन्तान सुन्म्यसङ हुन् । सुन्म्यसङले ग्लोजुङ्मर्सजुङ्सँग विवाह गरिन् । उनीहरुबाट हारेम्म्य जन्मियो । हारेम्मयले दलजुङ थाम्यजुङसँग विवाह गरिन् । उनीहरुबाट न्यामफ्रांम्य जन्मियो । न्यामफ्रांम्यको खुलुजुङ मसलजुङसँग विवाह भयो । उनीहरुबाट जन्मेको सन्तान निन्वाम रिदम थिइन् ।

निन्वाम रिदमले ख्वाम्दासँगको सम्बन्धबाट ७ वटा सन्तान भए । सात सन्तान्मध्ये पहिलो रोदोरो घ्रङ (जंगली काँडा), दोस्रो तितिछरा घ्रङ (काँडा), तेस्रो घुंघेर्मे (काँडा), चौथो न्योर (बाँघ), पाचौं मोस (भालु), छैटौं नुस (बादर) र सातौं हस (मान्छे)को रुपमा जन्म लिएको किंवदन्ती छ । त्यसैलाई खालिङहरुले आफ्नो उत्पति भई निन्वाम रिदम र ख्वाम्दालाई आदिम पूर्खाको रुपमा मान्ने गरेका हुन् ।

प्रकाशित मिति : शुक्रबार, ११ फाल्गुन २०८० १२:५९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ