Logo

पहिचानवादीले कोशी नामकरण भएको दिन विरोध सभा गर्ने


विराटनगर । प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचानवादीहरुले प्रदेशसभाले प्रदेशको नाम राखेको दिन फागुन १७ गते सबै जिल्लामा विरोध सभा गर्ने भएका छन् ।

यसअघि फागुन १७ गते ‘कालो दिन’ भन्दै प्रदेश बन्दको आव्हान गरेको प्रदेश १ को पूनःनामांकन संयुक्त सङ्घर्ष समितिले सरकारसँग भएको वार्तापछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै विरोध सभा गर्ने निर्णय गरेको हो ।

बन्दको आव्हान स्थगन गरी उक्त दिनलाई ‘अँध्यारो दिन’ नामकरण गर्दै प्रदेशको १४ जिल्लामा विरोधसभा गर्ने भएको संघर्ष समितिले जनाएको छ ।२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेश नं. १ लाई ‘कोशी’ नामकरण गरेको दिन हो । कोशी नामाङ्कनको विरोधमा पहिचान सहितको नामकरण माग गर्दै आन्दोलन सुरु भएको १ वर्ष पुगेको सन्देश दिन सङ्घर्ष समितिले यसअघि प्रदेश बन्दको घोषणा गरेको थियो ।

सङ्घर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोका अनुसार कोशी नाम खारेजीको विषयमा प्रदेश सरकारसँग वार्ता चलिरहेकोले आन्दोलनको स्वरूप फेरिएको हो । सरकारले वार्ताको क्रममा फागुनभरीमा आन्दोलनमा घाइते भएकाहरूलाई उपचार गर्ने र झुट्टा मुद्दा फिर्ता लिन सम्झौता गरेकोले त्यसलाई कार्यान्वयन गर्न पनि संघर्ष समितिले खबरदारी गर्ने जनाएको छ ।

प्रदेश सरकार र संयुक्त सङ्घर्ष समितिबीच गत माघ २६ गते भएको वार्तामा पुनः नामकरणमा सहमति हुने राजनीतिक वातावरण बनाउने तथा राजनीतिक गतिविधिमा अवरोध नगर्ने सहमति भएको थियो ।पछिल्लो पटक फागुन ९ गते भएको दोस्रो वार्तामा आन्दोलनकारी पक्षले पहिलो वार्तामा प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्न जोड दिएको थियो ।

आन्दोलनमा घाइते भएकाहरूलाई उपचार र उपचार खर्च दिने विभिन्न अदालत, प्रशासनमा प्रहरीले लगाएको झुट्टा मुद्दा प्रदेश सरकारले फिर्ता लिने सम्झौता फागुन मसान्तभित्र कार्यान्वयन गर्ने निर्णय दोस्रो वार्तामा भएको छ ।

प्रकाशित मिति : आईतवार, १३ फाल्गुन २०८० १६:२९
प्रतिक्रिया दिनुहोस्