Logo

नेपालका पर्वत र पर्वतारोहण पर्यटन


वास्तवमा पर्वतारोहण पर्यटन नेपालको पर्यटन उद्योगको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । हुन पनि विश्वका अधिकांश देशहरुले विश्वभरिका पर्यटकहरुलाई आफ्नो देशमा पर्वतारोहण, पदयात्रा, जलयात्रा आदिका लागि आकर्षित गर्ने गरेको छ । त्यस्तै नेपालले पनि विश्वका धेरै भन्दा धेरै पर्यटकहरुलाई पदयात्रा र जलयात्राका साथै पर्वतारोहण वा हिमाल आरोहणमा गर्नमा पनि आकर्षित गराउन अझ सशक्त बदम चाल्नु पर्ने देखिन्छ । हुन पनि नेपालमा हिमरेखा भन्दा माथि लगभग १७ सय वटा हिमालहरु रहेका छन् भने नेपाल सरकारले पटकपटक गरेर लगभग चारसय वटा (५,५५० मिटर अग्लो छुकुङ–री देखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा एभरेस्टलगायतका) हिमालहरु पर्वतारोहणका लागि खुल्ला गरेको छ ।

त्यसमध्ये धेरै अघिदेखि तत्कालीन श्री ५ को सरकारले ३३ वटा स–साना हिमाललाई “ट्रेकिङ पिक’को रुपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, ती स–साना हिमाल चढ्न चाहने आरोहीलाई परमिट दिने, शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर सुम्पेको थियो भने यस विषयमा बीचमा ‘कान फुका’हरुको कुरो सुनेर नेपाल सरकारले पर्वतारोहरण संघलाई दिइएको स–साना हिमालहरुको जुन हक थियो, त्यो हक बीचमा अकस्मात खोस्यो । त्यसपछि नेपाल सरकारको उक्त निर्णय विरुद्ध नेपाल पर्वतारोहण संघले सर्वोच्च अदालतमा मुद्धा हाल्यो र, जित्यो पनि ।

त्यस्तै पर्वतारोहणका लागि खुल्ला गरिएका बाँकी हिमालहरु भने नेपाल सरकारको मातहतमा छ । हुन त नेपालमा रहेका हिमालहरु नेपालका लागि मात्रै नभएर छिमेकी देशहरु भारत, बंगादेश लगायतका देशको लागि पनि स्वच्छ खानेपानी, सिचाई विजुली बत्ती, आदिका लागि मुहान अर्थात् मुख्य श्रोतको रुपमा रहेको छ । पछिल्लो दिनमा मौसम परिवर्तनका कारण त्यही स्वच्छ खानेपानी, सिचाई विजुली बत्ती, आदिका लागि मुख्य श्रोतको रुपमा रहेको हिमालहरु पग्लेर हाम्रा लागि अभिशाप र दुःखको श्रोत पनि बन्दै गएको दुःखद स्थिति छ । निश्चय नै यसमा निर्दोष, निश्चल र अटल ती हिमालहरु दोषी नभएर हामी मान्छेहरु नै दोषको मुख्य भागीदारी हौं भन्नेमा दुईमत छैन । त्यसमा पनि विकसित देशहरु मुख्य रुपमा दोषी छन् । यसबारेमा छुट्टैे लेख लेखोंैला ! जे होस्, नेपालका लागि मात्रै नभएर सन्सारभरिकै मान्छेहरुका लागि पनि हाम्रा हिमालहरु विभिन्न हिसावले वरदान नै सावित भएको छ ।

हाम्रो देश नेपालमा भएका हिमालहरुका बारेमा कुरो गर्दा हालसम्म विश्वले मान्यता दिएका विश्वका आठहजार मिटरभन्दा माथिका अग्ला १४ वटा हिम शिखरहरु मध्ये आठहजार आठसय ४८ मिटर अग्लो सगरमाथा अर्थात् (चोमोलुङमा, एभरेस्ट) नेपाल–चीन सिमाना, आठहजार पाँचसय ८६ मिटर अग्लो कञ्चनजंघा (सेवालङ), नेपाल–सिक्किम सिमाना, आठहजार पाँचसय १६ मिटर ल्होत्चे, आठहजार चारसय ६३ मिटर अग्लो मकालु, आठहजार दुईसय एक मिटर अग्लो चोओ–यु, आठहजार एकसय ६७ मिटर अग्लो धौलागिरी, आठहजार एकसय ६३ मिटर अग्लो मनास्लु, आठहजार ९१ मिटर अग्लो अन्नापूर्ण गरी आठवटा (६० प्रतिशत) नेपालमै छन् । जुन कुरो हामी नेपालीहरुका लागि सौभाग्य र गर्वको कुरो हो । त्यही अनुसार सही सदुपयोग नहुनु अर्कै कुरो हो । हुन हाल विश्वमा आठहजार माथिका हिमाल १७ वटा भएको पत्ता लागेको छ भने यसरी पत्ता लागेका नयाँ हिमालहरु सबे नेपालमै रहेको छ । यी नयाँ हिमालहरु छन् भन्ने पुष्टि भैसके तापनि आधिकारिक रुपमा मान्यता पाउन भने बाँकी नै छ ।

त्यसैले सकेसम्म नेपाल आउने हरेक विदेशी पर्यटकहरुलाई संभव नभए तापनि धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई कम्तिमा नेपालको कुनै न कुनैै ट्रैकिङ पिक वा हिमाल आरोहणमा प्रोत्साहित गर्न सके नेपाल र नेपालीको आमदानीमा अरु बढी बढोत्तरी हुन्थ्यो । तर अझै पनि नेपाल सरकारको पर्यटन नीतिमै आवश्यक लचकता देखिदैन । जस्तै पर्वतारोहीहरुले हिमाल आरोहण गरे वापत लाग्ने सलामी शुल्ककै कुरो गरौं । अरु देशको तुलनामा १० गुणाभन्दा पनि बढी महँगो छ । अन्य अफिसियल कुरोहरुमा हुने ढीलासुस्ती र नेपाली कर्मचारीतन्त्रमा रहेको अनावश्यक दुःख दिने मानसिकतामा अझै पनि परिवर्तन आउन नसकेको कारण अन्यावश्यक झन्झटहरु खेप्नु पर्ने त छँदैछ । तापनि नेपाल, नेपाली जनता र, नेपालमा रहेका हिमालहरुलाई माया गरेर विदेशी पर्यटकहरु खासगरी पर्वतारोहीहरु आइरहेकै छन् । र, ठूला हिमाहरुलाई छाडेर ३३ वटा स–साना “ट्रेकिङ पिक” आरोहण गर्न आएको २०५४/२०५५ देखि २०६४/२०६५ सम्मको (श्रोतः नेपाल पर्वत, मे २००९) तथ्याङ्क हेर्दा २०५४/०५५ मा ६८० वटा “ट्रेकिङ गु्रप” ले विभिन्न “ट्रेकिङ पिक”हरु आरोहणका लागि अनुमति लिएका थिए भने २०६४/०६५ मा १०९१ वटा “ट्रेकिङ ग्रुप” ले अनुमित लिएको देखिन्छ । यो भनेको राम्रै तथ्यांक हो भन्न सकिन्छ ।

त्यस्तै गएको सिजन (सन् २०१६ अप्रिल/मे) मा मात्रै विभिन्न देशका दुईसय ८९ जना पर्वतारोहीहरु विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलमा चढ्न गएका थिए ।
जे होस्, बाँकी रहेका आठहजार मिटर भन्दा अग्लो हिम शिखर भएका देशहरुमा चीन ८,८४८ मिटर चोमोलुङमा (एभरेस्ट) चीन–नेपाल सिमाना, ८,०१३ सिसा–पाङमा नेपाल–चीन सीमा र ८,६११ मिटर के–टु, ८,१२५ मिटर नांगा पर्वत पाकिस्तान, ८,०६८ मिटर गसेर बु्रम–१ पाकिस्तान–चीन सिमाना, ८,०५६ मिटर ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, ८,०३४ मिटर गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमाना हो । माथि उल्लेखित यी दुइवटै देशहरुमा पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्क नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरुले कुनै पनि स–साना हिमाल देखि लिएर ठूला हिमालहरु चढ्दा लाग्ने शुल्क अर्थात् सलामी तस्तुर घटाउने लगायत अन्य अफिसियल झन्झटहरु हटाउने तर्फ सोच्नै पर्ने देखिन्छ । हुन त पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपालको सुदूर पश्चिम क्षेत्रमा रहेका केही हिमालहरु नेपाल सरकारले केही हिमालहरु निशुल्क र, केही हिमालहरु पचास प्रतिशत छुटमा चढ्नका लागि खुल्ला गरेको छ । तर भगौलिक दूरता र यातायातको कठिनाइले गर्दा हिंडेरै गएर चढेर फर्कँदा तीन–चार महिना भन्दा पनि बढी समय लाग्न सक्ने भएकोले अहिलेको जस्तो हतारोको जमानामा संभव नै छैन । त्यसमाथि आर्थिक रुपमा ज्यादै खर्चिलो पनि हुन्छ “–पर्वतारोहण । सायद त्यसैको प्रभाव स्वरुप हुन सक्छ, हालसम्म अपेक्षित रुपमा सफलता मिल्न सकेको छैन । भनिन्छ, ती निशुल्क चढ्न पाइने भनिएको केही हिमालहरु चढ्न पाऊँ भनी अनुमतिका लागि अहिलेसम्म कुनै विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, उद्योग महशाखामा निवेदन हालेका छैनन् ?

तापनि समग्रमा नेपालको पर्यटन उद्योग–व्यवसायमा सम्भावना कति छ भन्ने त नेपालमा पदयात्रा व्यवसाय चलाउनका लागि दर्ता भएका १८ सयको हाराहारी संख्यमा खलेको ट्रेकिङ एजेन्सीहरु, लगभग १२ सयवटा ट्र्राभल्स एजेन्सीहरु र सयवटा जत्ति जलयात्रा अर्थात् र्याफ्टिङ चलाउन खुलेका र््याफ्टिङ ऐजेन्सीहरु अनि लगभग दई दर्जन जत्ति निजीक्षेत्रका विमान सेवा कम्पनीहरुले नै बताउँछ । (यो तथ्याङ्क सन् २००७ सम्मको मात्रै हो ।) हाल ट्राभल एजेन्सीको संख्या १,८१४ र, टे्रकिङ एजेन्सीको संख्या १,०९६ पुगेको छ । यो संख्या नेपाल सरकार मातहत दर्ता भएका मात्रै हुन् । त्यस्तै पर्यटक (टुरिष्ट) गाईड २,६६८ जना र ६,७४५ जना पदयात्रा (ट्रेकिङ) गाइडहरु नेपाल सरकार, पर्यटन मन्त्रालय, उद्योग महाशाखा अन्तर्गत रहेको पर्यटन तथा होटल तालिम केन्द्र रविभवन, कालीमाटी, काठमाण्डौ बाट तालिम प्राप्त र दक्षता हासिल गरेकाहरु छन् भने लगभग त्यत्ति नै संख्यामा कुक सम्बन्धी तालिम गरेका दक्ष कुकहरु छन् ।

हुन त हालसम्म नेपाल सरकारले विदेशी तथा स्वदेशी पर्वतारोहीहरुका लागि भनी नेपालका ४ सय १४ वटा हिमालहरु खुल्ला गरेको छ । तर ती ४ सय १४ मध्ये हालसम्म आरोहण गर्नका लागि कुनै पनि पर्वतारोहीहरुले चासो नलिएका धेरै हिमालमध्ये ३३ वटा हिमाल आरोहणका लागि बजारीकरण, रेखदेख र प्रचारप्रसार गर्ने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) लाई दिने घोषणा गरेको छ, नेपाल सरकारले । यसरी हेर्दा बीचमा एकपटक नेपाल सरकार, टान, नाट्टा लगायत पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरुको नजरमा नेपाल पर्वतारोहण संघ (एनएमए) अर्घेलो जस्तो देखिएको भए तापनि नयाँ ३३ वटा हिमाल आरोहणका लागि बजारीकरण, रेखदेख र प्रचारप्रसार गर्ने जिम्मा पनि नेपाल पर्वतारोहण संघ (एनएमए) लाई दिने घोषणा गरेकोले नेपाल पर्वतारोहण संघ (एनएमए) को महत्व अरु बढाएको देखिन्छ ।

 

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ ०९:२७

Archives

प्रतिक्रिया दिनुहोस्