Logo

मध्यभोटेकोसीले १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने


काठमाडौं । मध्यभोटेकासी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि छुट्याएकाे १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।

दाेस्राे चरणमा स्वपुँजी लगानीकाे २५ प्रतिशत हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर निष्कासनकाे तयारी गरेकाे कम्पनीले जनाएकाे छ । साधारण सेयर निष्कासन गर्न कम्पनीले नागरिक लगानी काेषसँग ‘सेयर प्रत्याभूति सम्बन्धि सम्झौता’ गरेकाे छ । कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत अर्थात ६० लाख कित्ता र सर्वसाधारणका लागि १५ प्रतिशत हुन आउने ९० लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

स्थानीयका लागि ६० कराेड र सर्वसाधारणका लागि ९० कराेड मूल्यकाे सेयर निष्कासन हुनेछ । सेयर निष्कासन गर्ने प्रक्रियाका लागि नेपाल धिताेपत्र बाेर्डमा आवेदन दिने तयारी भइरहेकाे कम्पनीले जनाएकाे छ । कम्पनीले यसअघि पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका  लागि १९.५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

चिलिमेकाे सहायक मध्येभाेटेकाेसीले सिन्धुपाल्चोकमा १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना करिब ५५ प्रतिशत पूरा भएकाे छ ।

प्रकाशित मिति : बुधबार, १ माघ २०७६ ०९:५८
प्रतिक्रिया दिनुहोस्