Logo

सोलुखुम्बुलाई पहिलो पटक बिधुतको राष्ट्रिय प्रसारण लाईनमा जोडिदै


सोलुखुम्बु जिल्ला पहिलो पटक बिधुतको राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएको छ । तिङ्लाको लम्मानेमा निर्मित सव्स्टेसनमार्फत नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनसँग जिल्लालाई जोड्न लागिएको हो ।

योसँगै अब सोलु करिडोरअन्तर्गत विभिन्न आयोजनाहरुबाट धमाधम उत्पादन हुन लागेको बिधुत सदुपयोग हुनेछ।

यहि माघ ४ गते सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई (सुरबीर)ले सोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ स्थित पत्तालेमा राष्ट्रिय प्रसारण लाईनको उद्घाटन कार्यक्रम हुने जनाइएको छ । १ नगरपालिका सहित ८ स्थानीय तह र ५२ वटा वडा रहेको सोलुखुम्बुमा यसअघि कुनैपनि वडा राष्ट्रिय प्रसारण लाईनले जोडिएका थिएनन् । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ नै राष्ट्रिय प्रसारण लाईनले जोडिएको पहिलो वडा हो ।

यो वडाबाट सिङ्गो नगरपालिका, नेचासल्यान गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र माप्य दुधकोशी गाउँपालिका हुँदै पुरै जिल्लामा राष्ट्रिय प्रसारण लाईन बिस्तार गर्ने योजना रहेको छ ।

राष्ट्रिय प्रसारण लाईनले जोडिने बित्तिकै जिल्लाको बिकट बस्तीमा पनि बिधुतको पहुँच पुग्ने भएको छ ।

  • पत्रकार अनुज खड्काको सहयोगमा  
प्रकाशित मिति : बिहीबार, २ माघ २०७६ १३:०६
प्रतिक्रिया दिनुहोस्