अपि हिमालमा हुने ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ सञ्चालनका लागि सम्झौता
काठमाडौं । दार्चुलाको अपि हिमालमा हुने ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, यूएनडीपी, नेपाल पर्वतारोण संघ (एनएमए) र अपि हिमाल गाउँपालिकाबीच सम्झौता भएको छ ।
तालिम सञ्चालनका लागि बिहीबार भएको सम्झौताअनुसार काठमाडौं र अपि हिमालमा ३५ दिने माउन्टेन गाइड तालिम सञ्चालन हुनेछ ।
एनएमएका तालिम समितिका संयोजक तथा सचिवालय सदस्य राजेन्द्रबहादुर लामाले यो एनएमएले सञ्चालन गरेको माउन्टेन गाइड तालिमअन्तर्गतको ‘समर स्किल’ तालिम भएको बताए । जसमा माउन्टेन गाइड तालिमअन्तर्गतको पहिलो चरणको ‘फन्डामेन्टल फर माउन्टेनेरिङ’ तालिम लिएका प्रशिक्षार्थीहरूले सहभागिताका लागि आवेदन दिन पाउनेछन् ।
तालिमका लागि एनएमएले शुक्रबार आवेदन खुला गरेको छ । इच्छुकले १३ अगस्ट २०२५ सम्म आवेदन दिन पाउनेछन् ।
तालिममा सैद्धान्तिकतर्फ पर्वतीय मौसम, आरोहण उपकरण, वातावरण संरक्षण, हिमाल भू–विज्ञान, हिमाली हावापानी, हिमाल जीव तथा वनस्पति, हिमाल सम्पदालगायत विषयमा प्रशिक्षण दिइनेछ । त्यस्तै प्रयोतात्मकतर्फ म्याप तथा माउन्टेन नेभिगेसन, लिड रक क्लाइम्बिङ, एङ्करिङ, क्याम्पिङ / बिभोकिङ, ग्ल्यासियर रेस्क्यू सिस्टम, ग्ल्यासियर वाक, पिक क्लाइम्बिङ स्किल, आधारभूत क्यानोनिङ, ग्रीष्मकालीन सुरक्षालगायत प्रशिक्षण दिइनेछ ।


