शेर्पा पर्यटन व्यवसायी संघको सातौं साधारणसभा शनिबार हुँदै, नयाँ नेतृत्व सर्वसम्मत बनाउने पहल
काठमाडौं । शेर्पा पर्यटन व्यवसायी संघ नेपाल (एसटीन)को सातौं साधारणसभा शनिबार काठमाडौंमा हुँदैछ । जोरपाटीमा अवस्थित शेर्पा पार्टी प्यालसमा आयोजना गर्न लागिएको उक्त साधारणसभाले विगतको समिक्षा, भावी नीति तथा कार्यक्रम तय गर्दै नयाँ कार्यसमिति चयन संघका अध्यक्ष पेम्बा शेर्पा (संगम)ले जानकारी दिनुभयो ।
संघको नयाँ नेतृत्वका लागि आकांक्षीहरु धेरै भएपनि सर्वसहमतीका लागि आन्तरिक छलफल जारी रहेको बुझिएको छ । समाचार स्रोतकाअनुसार वर्तमान कार्यसमतिभित्र भने एकमतका साथ नयाँ नेतृत्वको नाम प्रस्ताव गर्ने सहमति भइसकेको छ ।
सो अवसरमा शेर्पा समुदायका बरिष्ठ पर्यटन व्यवसायीहरु, आरोहीहरुलाई सम्मान गर्न कार्यक्रमसमेत रहेको छ । त्यस्तै पत्रकारिता क्षेत्रबाट योगदान गर्ने चार जना पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको संघले जनाएको छ ।
संघले आफ्नो स्थापनाकालदेखि नै शेर्पा समुदायभित्रका पर्यटन व्यवसायीहरुलाई संगठित गरेर व्यावसायिक हकहितका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै मुलुकको सिंगो पर्यटन प्रवद्र्धन र वृद्धिविकासमा योगदान गर्दै आइरहेको छ ।

