स्व.अर्जुन खालिङको मृत्यूपर्यान्त ‘सोल्टिनी विनाको साकेला’ सार्वजनिक
काठमाडौं । चित्रकार तथा साहित्यकार स्वर्गीय अर्जुन खालिङले लेखेको ‘सोल्टिनी विनाको साकेला’ गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार आसुतोष राईको संयोजन तथा गायिका यसोदा खालिङको लगानीमा निर्मित उक्त गीत चर्चित गायक राजेश पायल राई र तारा नुमिहाङ राईले स्वरबद्ध गरेका हुन् ।
म्यूजिक भिडियोसहितको उक्त गीत शनिबार अर्जुन खालिङ फाउण्डेशनद्धारा राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच बरिष्ठ कवि भूपाल राईले सार्वजनिक गर्नुभएको हो ।
गायक तथा संगीतकार आसुतोष राईको संगीत रहेको गीतलाई अशोक लोहारुङ राईले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा चर्चित हास्यकलाकार विल्सन विक्रम राई र नायिका तथा मोडल एलिशा राईको मुख्य अभिनय रहेको छ भने विक्रम धिमाल, सुजन राई, पुजन राईलगायतका कलाकारहरु पनि रहेका छन् ।
विल्सन विक्रम राईले निर्देशन गरेका गीतको भिडियोमा राजीव कुमारको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ । गीतको भिडियोलाई विक्रम डिसीले छायाङ्कन गरेका हुन् ।
गीत लोकार्पण कार्यक्रममा कवि भूपाल राईले अर्जुन खालिङको बहुआयमिक व्यक्तित्वको बारेमा चर्चा गर्दै यो गीत उनले छोडेको एउटा साझा सम्पति भएको बताए । उनले अर्जुनका सबै खाले रचना तथा कलाहरुलाई सबैका सामु पुर्याउनु सबैको दायित्व भएकोमा जोड दिए ।
फाउण्डेशनका अध्यक्ष मानबीर राईले अर्जुन खालिङको सपना साकार पार्नका लागि आफुहरुले चरणबद्ध कार्यहरु अघि बढाइरहेको बताए । सो अवसरमा उनले फाउण्डेशनले अहिलेसम्म गरेको कार्यहरुको उजागर गर्दै यसको उद्देश्य र कार्ययोजनाको चर्चा गरे ।
गायक तथा संगीतकार आसुतोष राईले अर्जुन खालिङ जस्तो व्यक्तित्वसँग जोडिएर काम पाउनु आफ्नो लागि अहोभाग्यको कुरा भएको भन्दै यो गीत राम्रो बनाउनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरेको बताए । उनले यो गीतबाट आफुले सोचेअनुरुप नै सफलता हासिल हुने विश्वाससमेत व्यक्त गरे ।