Logo

एमसीसीलाई अनुमोदन गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सैन्य प्रयोजनमा खर्च नहुने र अन्य कुनै कुरासँग नजोडिएकाले यसलाई अनुमोदन गर्नुपर्ने बताएका छन् ।

९ वाम समूहका नेताहरुका तर्फबाट दिइएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई कार्यान्वयनमा लानु पर्ने बताएका हुन् ।

एमसीसी ५ वर्ष भित्रमा सक्नु पर्ने अनुदान भएको र त्यो के मा खर्च गर्नेसमेत स्पष्ट भइसकेको भन्दै कुनै समस्या नहुने बताए ।

‘एमसीसी एउटा अनुदान हो । ५ वर्ष भित्र हामीले त्यो ५५ अर्वमा ट्रान्समिसन लाइन र बाटो बनाइसक्नु पर्छ । बनाइएन भने जति बाँकी रहन्छ, त्यो त्यही सकिन्छ । यो सम्झौताको अवधि पनि सिद्धिन्छ’ ओलीले भने,‘ यो कार्यक्रमअन्तर्गत अहिले थुप्रै देशहरुमा काम भइरहेको छ ।’

प्रजातन्त्र, मानवअधिकार जस्ता विषयलाई हेरेर एमसीसी स्वीकृत भएको भन्दै प्रधानमन्त्री ओलीले यसबाट पछि हट्न नहुने बताए ।

‘जुन देशमा डेमोक्रेसी छ, त्यसले मात्रै यस कार्यक्रअन्तर्गतको सहयोग पाउँछ । तानाशाही भएका देशले नपाउने, सैन्य प्रयोजनका लागि यसको खर्च हुन नसक्ने र जनतामुखी विकास गर्ने देशलाई मात्र अनुदान दिन सकिने, यो सहयोग पूर्वाधार विकासमा लगाउनु पर्नेछ’ उनले भने,‘ सैन्य प्रयोजनमा लगाउन नहुने र भारतमा बिजुली बेच्नको लागि ट्रासमिसन लाइन नेपालले बनाउने भनेपछि कहाँ खर्च गर्नेभन्दा भारतसँग पनि सहमति गर्ने भनिएको छ । भारतले बिजुली किन्छु भनेर गोरखपुरसम्मको ट्रासमिसन लाइन दिन्छु भनेको हुनाले त्यसमा उसले पनि सहमति गर्नु पर्‍यो भन्ने कुरा हो ।’

८ वर्ष अगाडि २०१२ मा नेपाल यसका लागि एमसीसीका लागि योग्य भएर २०१५ मा आएर अनुदान सहयोग पाउने टुंगो भएको बताउँदै प्रधानमन्त्री ओलीले अहिले आएर यसबारे बहस गर्नु अनावश्यक भएको बताए ।

उनले आफ्नै पार्टीले बनाएको एमसीसी अध्ययन कार्यदलप्रति पनि कटाक्ष गरे ।

‘अढाई वर्ष अगाडि सम्झौता भयो, अहिले आएर अध्ययन गर्न कार्यदल बनाउँदैछौं, यो त तमासा हो’ प्रधानमन्त्री ओलीले भने,‘यस्ता अभ्यासले हाम्रो अन्तर्राष्ट्रिय विश्वसनीयतालाई कमजोर बनाउँछन् ।’

आफूहरुले सरकारमा नभएको समयमा पनि एमसीसी सम्झौता बारे अध्ययन गरेको र यो सही छ भनेको प्रधानमन्त्रीले बताए ।
‘हामीले त्यसैबेला सम्झौताको अध्ययन गर्यौं‍ र यो ठीकै छ, अनुदान लिनुपर्छ भन्ने निष्कर्ष निकाल्यौं’ प्रधानमन्त्री ओलीले भने,‘ हामी प्रतिपक्षमा थियौं, तर पनि हामीले त्यसको समर्थन गर्‍यौं । यो कुनै शर्तअन्तर्गत आएको होइन ।’

एमसीसीलाई रद्द गर्न सकिने प्रावधान समेत रहेको र चित्त नबुझे एक महिना अघि जानकारी दिएर रद्द गर्न सकिने बताए ।

 

प्रकाशित मिति : बिहीबार, १ फाल्गुन २०७६ १२:१५
प्रतिक्रिया दिनुहोस्