Logo

आफुविरुद्ध करोडौं खर्चेर षड्यन्त्र गर्ने गिरोहको नाइकेको पर्दाफास गर्ने मुख्यमन्त्री राईको भनाई (भिडियोसहित)


काठमाडौं, १७ फागुन । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आफूमाथि एउटा गिरोह षड्यन्त्रमा लागेको भन्दै त्यसका नाइकेको पर्दाफास हुने बताएका छन् ।आफूमाथि बालिका खड्काले पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा हिजो मुद्दा दायर गरेको आज उनले पत्रकार सम्मेलन गरेर गिरोहकै योजना बमोजिम यो कदम चालिएको दाबी गरे । उनले गिरोहको नाइकेको किटानी नामसहित पार्टीको पोलिटब्यूरो बैठकमा छलफल भएको खुलासा समेत गरे । तर, उनले ती नाइके को हुन् भनी खुलाएनन् ।

आफ्नो राजनीतिक भविष्य नै समाप्त गर्ने गरी गिरोहले करोडौं खर्च गरेको उनको आरोप थियो । ‘मविरुद्ध एउटा गिरोह नै लागेको छ जसको नाइकेको नाम पार्टीमा दिएको छु,’ मुख्यमन्त्री राईले भने, ‘यही गिरोहको योजना अनुसार यो सबै भइरहेको छ ।’

बालिका खड्काको नाम नलिई उनले आरोप लगाउनेलाई नचिन्ने दाबी गरे । आफू सञ्चारमन्त्री हुँदा देखि नै यो षड्यन्त्र भएको उनले खुलाए । उनले भने, ‘ममाथि षड्यन्त्र गर्नेको पर्दाफास हुन्छ ।’ निकै भावुक रुपमा प्रस्तुत भएका राईले आफू निष्ठावान कम्युनिष्ट पार्टीको सिपाही भएको बताए । विश्वकै कम्युनिष्ट आन्दोलनमा नभएको षड्यन्त्र आफूमाथि भएको उनको भनाई थियो ।

आफूविरुद्ध षड्यन्त्र गर्ने गिरोहविरुद्ध सीआइबीमा उजूरी समेत गरेको खुलासा गरे । तत्कालिन डिआइजी नवराज सिलवाललाई यसबारे जानकारी गराएको समेत खुलाए ।

उनले भने, ‘मलाई छ वटा मोबाइलबाट लगातार मेसेज पठाइएको थियो जसलाई मैंले सीआइबीमा समेत दिएको थिएँ ।’ आफू निर्दोष भएकालेसमेत ढुक्क भएर काम गर्न त्यतिबेला अध्यक्ष केपी शर्मा ओलीले भनेको बताए ।

पछिल्लो समय एकपछि अर्को घटना विकास भइरहँदा आफूलाई त्यसैमा मुछ्न खोजेको उनको भनाई थियो । सत्तारुढ दलका मन्त्री देखि नेता समेत विभिन्न काण्डमा मुछिइरहँदा यसैमा राखेर हल्ला चलाउन खोजेको टिप्पणी गरे ।

प्रकाशित मिति : शनिबार, १७ फाल्गुन २०७६ १६:०५
प्रतिक्रिया दिनुहोस्