कोरोनाले पारेको असरबारे विस्तृत अध्ययनपछि अर्को प्याकेज आउँछः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ ले अर्थतन्त्रमा पारेको विषयमा अध्ययन भइरहेको र त्यसपछि विस्तृत प्याकेज आउने बताएका छन् ।
शुक्रबार आक्यानले गरेको भिडियो कन्फ्रेन्समा बोल्दै गभर्नर अधिकारीले अहिले शुरुवाती प्याकेज भएको ल्याइएको भन्दै विस्तृत अध्ययनपछि अर्को प्याकेज ल्याइने बताए ।
उनका अनुसार अहिले राष्ट्र बैंक आफैले पनि अध्ययन गरिरहेको र बैंकहरुले पनि छुट्टाछुट्टै अध्ययन गरिरहेको बताउँदै त्यसपछि विस्तृत प्याकेज आउनेछ ।
‘बैंकहरुले ५ करोड रुपैयाँभन्दा माथिका ऋणीहरुको अवस्था, निरन्तरताका लागि के गर्न सकिन्छ ? सुविधाका विषयमा, व्यवसायमा चल्ने नसक्ने अवस्थाका विषयमा अध्ययन गरी विस्तृत प्याकेज आउँछ,’ उनले भने ।
अधिकारीले यसका लागि नियमनकारी निकायबीच राहत ल्याउने विषयमा समन्वय गर्नुपर्ने बताए ।
‘अहिले ग्राहकहरुमा परेको तनावलाई कम गर्नका लागि राहत ल्याइएको हो, यतिबेला हरेक व्यक्ति, परिवार, बैंक क्षेत्र सबै वित्तीय क्षेत्रमा असर परेको छ, वित्तीय क्षेत्रमा पनि असर परेकाले विस्तारै समाधान गर्दै जानुपर्छ,’ उनले भने ।
उनले लकडाउन अझै लम्बियो भने अवस्था अझ बढी क्रिटिकल हुने भन्दै त्यसलाई पनि विश्लेषण गरी निर्णय गर्नुपर्ने बताए । उनले कोभिड १९ का कारणरेमिट्यान्स समेत घटेको बताए ।
‘रेमिट्यान्स तलरता र विदेशी मुद्राको स्रोत पनि हो, यो घटिरहेको छ । चैतमा जति घटेको थियो, त्यसको तुलनामा बैशाखमा केही बढेको छ, यद्यपि यो विगतको तुलनामा कम छ, त्यसलाई पनि ध्यान दिनुपर्छ,’ उनले भने ।