Logo

कांग्रेसद्वारा काठमाडौंमा रहेका सोलुबासीलाई राहत वितरण !


काठमाडौं : कोरोना भाइरसका कारण दिनभर काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीवी वर्गदेखि विपन्न समुदाय लकडाउनका कारण भोकै बस्नुपरेको अवस्था आएपछि नागरिकस्तरबाटै सहयोगीहरु हातहरु अगाडि सरेका छन् । सरकारको मुख हेरेर बसेका विपन्न समुदायले यतिबेला थोरै भएपनि राहत महसुस गरिरहेको छ । यसैक्रममा नेपाली कांग्रेस सोलु काठमाडौँ सम्पर्क समिति सोमबार राहत वितरण गरेको छ । प्रतिकुल मौसमका बाबजुत पनि सम्पर्क समितिले काठमाडौंमा रहेका सोलुबासीलाई खाद्यान्न सहयोग गरेको हो ।

लकडाउनका कारण समस्यामा परेका सोलुवासी भोकै बस्नुपर्ने अवस्था नआओस् भनेर खाद्यान्न वितरण गरिएको सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले बताए । ‘राजधानीमा रहेका मजदुर, विद्यार्थीका साथै दैनिकी चलाउन गाह्रो भएका सोलुबासीलाई हामीले सहयोग गरेका हौं,’ अध्यक्ष बस्नेतले भने ।

राहत संकलनदेखि वितरणमा महत्वपूर्ण सहयोग गरेका सम्पर्क समितिका कोषाध्यक्ष नविन कार्कीले कोरोनका कारण भन्दा पनि भोकमरीका कारण गरिव र विपन्न वर्ग समस्यामा पर्ने अवस्था आएकाले आफूहरुले सक्दो सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि समितिले सहयोग वितरण गर्ने जानकारी दिए ।

समितिले काठमाडौंको हात्तिगौडा, कपन, बौद्ध, जोरपाटी, थली, नारायणटार, चाबहिल, चण्डोल, रामहिटी र चक्रपथ गरी ६६ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । राहत वितरणको समन्वय गरेका नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले आफुहरुले दलगत हिसावले नभई अभावमा रहेका सोलुखुम्बुबासी निस्वार्थ भावनाले खाद्यान्न वितरण गरेको बताए ।

उनका अनुसार चामल, दाल, खाने तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो । राहत वितरणमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति एवं कांग्रेस नेत्री आस्थाबिन्दु मल्ल पनि सहभागि थिइन् ।

त्यस्तै कांग्रेस महासमिति सदस्य खिलराज बस्नेत, महाधिवेशन प्रतिनिधिहरु, सम्पर्क समिति पदाधिकारी र सदस्यका साथै नेता कार्यकर्ताको उपस्थिति थियो । सम्पर्क समितिले यसअघि पाँच पटक राहत वितरण गरिसकेको छ । समितिका अनुसार अहिलेसम्म करिव एक हजार परिवारलाई राहत वितरण गरिसकेको छ ।

 

प्रकाशित मिति : मंगलवार, २३ बैशाख २०७७ १८:१४
प्रतिक्रिया दिनुहोस्