Logo

विश्व कीर्तिमानी आरोही मिङमा शेर्पाद्वारा कांग्रेस प्रवेश


काठमाडौं । आठ हजार मिटरभन्दा माथिका चौध वटै हिमाल आरोहण गरेर विश्व किर्तिमान कायम गर्न सफल आरोही मिङमा शेर्पाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शेर्पासहित संखुवासभा मकालु गाउँपालिकाका ७ जना पर्यटन व्यवसायीहरूलाई शुक्रबार नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले  सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा सह महामन्त्री डा प्रकाशशरण महत, कांग्रेस नेता दिपक गिरी, पुर्वमन्त्री डा मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य गगन थापा, पूर्वराज्य मन्त्री दिपक खड्का, तारामान गुरुङलगायतको उपस्थिति थियो ।

कार्यक्रममा महामन्त्री डा. कोइरालाले आगामी चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दावी गरे । लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भुमिका निर्वाह गरेको बताउदै कोइरालाले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने धारणा राखे ।

सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राखे । कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सरकार बेसार र तातो पानिको कुरामा अल्झिएको बताउदै विकास र समृद्धिबाट विमुख हुन पुगेको दावी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको आरोप लगाए । सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुदा कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको उनको भनाइ थियो ।

पार्टी प्रवेश गरेका पर्वतारोही मिङमा शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : शुक्रबार, ५ असार २०७७ २२:२१
प्रतिक्रिया दिनुहोस्