Logo

ओखलढुंगामा करदाता सेवा कार्यालय खुल्यो


ओखलढुंगा । साउन १ गतेबाट ओखलढुंगामा करदाता सेवा कार्यालय खुलेको छ । करदाता सेवा कार्यालय खुलेसँगै ओखलढुंगा र सोलुखुम्बुका करदातालाई सहज भएको छ ।

दुई जिल्लाका करदातालाई पायक पर्नेगरी ओखलढुंगा सदरमुकाममा करदाता  सेवा कार्यालय स्थापना भएसँगै कर तिर्नका लागि सिरहाको लहान जानुपर्ने बाध्यता हटेको छ ।

करदाता सेवा कार्यालयले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुंगा र सोलुखुम्बुलाई हेर्नेगरी स्थापना भएको हो । कार्यालयले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यवसायिक स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता, अन्त शुल्क दर्ता एवं इजाजत पत्र वितरण/जारी तथा नवीकरण, स्थायी लेखा नम्बर लिँदाको विवरण/जानकारी संशोधन तथा कारोबार/शाखा थपघट, मूल्य अभिबृद्धि करण विवरण अन्त शुल्क विवरण र आय विवरण रुजु, कर चुक्ता प्रमाणपत्र, कर समायोजन, स्थायी लेखा नम्बर स्थगन/खारेजी, खरिद खाता बिक्री खाता प्रमाणितलगायतका १४ प्रकारका सेवा दिने जनाइएको छ ।

सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले करदाता सेवा कार्यालयको पान प्रमाणपत्र भित्तामा झुण्ड्याएर करदाता सेवा कार्यालयको शुभारम्भ गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले करदाता सेवा कार्यालयले जनमैत्री तरिकाले सरल र सहज तरिकाले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

यसअघि जिल्लाका व्यवसायीहरुलाई २०७१ सालबाट आन्तरिक राजश्व विभागसँगको सहकार्यमा ओखलढुंगा उद्योग वाणिज्य संघले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यवसायिक अस्थायी लेखा नम्बर दर्ता, नवीकरणलगायतका करसँग सम्बन्धित विषयमा व्यवसायीहरुलाई सहजीकरण गर्दै आएको थियो । करदाता सेवा  कार्यालय सञ्चालनमा आएपछि ओखलढुंगा र सोलुखुम्बुका  व्यवसायी उत्साहित भएको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । ‘हाम्रो लामो समयदेखिको माग पूरा भएको छ,’ अध्यक्ष मास्केले भन्नुभयो, ‘२ हजार ५ सय कर तिर्न पनि १५ हजार रुपैयाँ खर्चेर लहान जानुपर्ने बाध्यता हटेको छ ।’

करदाता सेवा कार्यालय सुभारम्भ भए पनि उद्घाटन भने पछि गरिने बताइएको छ । ओखलढुंगामा ५ हजार ६ सय ५२ करदाता रहेका छन् । यस्तो सोलुखुम्बुमा ४ हजार ६ सय १० करदाता रहेको कार्यालयका डायसु सचिनदेव भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आईतवार, ४ श्रावण २०७७ १८:३७
प्रतिक्रिया दिनुहोस्