Logo

माप्य दुधकोशीको अर्को उपलब्धिः कायखेत मोटरेबल पुल शिलान्यास


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले एकपछि अर्को उपलब्धि हासिल गर्ने क्रममा जिल्लाकै कोशीपारीको टापुको रुपमा चिनिदै आएको वडा नम्बर ६ र ७ वाकुलाई जोड्ने कायखेत मोटरेबल पुलको शिलान्यास गरेको छ । भरखरैमात्र ओर्लाङघाटमा मोटरेबल पुलको उद्घाटन गरेको गाउँपालिकाले केही हप्ता नवित्दै अर्को ठूलो परियोजनाको रुपमा रहेको कायखेत मोटरेबल पुलको शिलान्यास गरेको हो ।
२०७७ सालभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त पुलको सोमबार संघीय सांसद हेमकुमार राई (सुरबीर)ले शिलान्यास गर्नुभयो ।

शिलान्यासपछि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले जनताको चाहाना तथा चुनावी घोषणापत्रको प्रतिबद्धताअनुरुप एकपछि अर्को नमुना विकास भइरहेको र सोहीको शिलशिलाको रुपमा कायखेत मोटरेबल पुल शिलान्यास गरेर निर्माण कार्य सुरु गरिएको बताउनुभयो । कम्युनिष्ट सरकार र जनप्रतिनिधिहरुले आजको परिस्थिति र आवश्यकताका आधारमा विकास मोडल निर्माण गरेर अघि बढेको उल्लेख गर्दै उहाँले जनताको प्रतिनिधिको तर्फबाट चालिएका सम्बृद्धि र विकासका कदमहरुबाट समग्र जनताले प्रत्यक्ष लाभको अनुभूति गर्नु नै आफुहरुको सफलता भएको तर्क गर्नुभयो ।

सोलुखुम्बु जिल्लाको ५२ वडामध्ये ४८ वटा वडाहरुमा सडक ट्याक ओपन भइसकेको र स्तरोन्नतिको काम तीब्र रुपमा अघि बढिरहेको तथ्य सार्वजनिक गर्दै उहाँले गाउँगाउँमा सडक सञ्जालसँगै धमाधम मोटरेबल पुलहरु बनेपछि त्यसबाट जनताले पाउने सहज र सरल सेवा सुविधा नै सम्बृद्धिको मुख्य आधार भएको बताउनुभयो । सहज रुपमा गाडिमा आवतजावत गर्ने र शहरबाट सामान ओसार्ने मात्रै नभएर गाडि फर्किदा स्थानीय उत्पादनहरुको निर्यात गर्ने वातावरण तयार गर्न सकेमात्रै वास्ताविक सम्बृद्धिको नाराले सार्थकता पाउने तर्क सांसार राईको थियो ।

उहाँकाअनुसार दुधकोशी नदीमा मात्रै ६ वटा मोटरेबल पुल बन्दैछन् । त्यस्तै सोलुखुम्बु जिल्लालाई उज्यालो बनाउने लक्ष्यअनुरुप दुई वर्ष अवधिमा ८० करोड बराबरको विद्युतिकरणको काम भइसकेको र ग्रामिण विद्युतीकरण अभियान तीब्र रुपमा अघि बढिरहेको छ । त्यस्तै सञ्चार क्षेत्रको विकासका लागि २१ वटा फोर जी टावर निर्माण भएको । पर्यटन प्रवद्र्धन र विकासका साथै कृषि क्षेत्रमा थप प्रभावकारी कार्यक्रमहरु अघि बढाइएका छन् ।

अर्का प्रदेश सांसद उत्तमकुमार बस्नेतले नयाँ मोडालिटीका साथ विकास निर्माणको काम अघि बढाइएको र त्यसको परिणाम पनि एकपछि अर्को गर्दै आइरहेको बताउनुभयो ।

नेकपा सोलुखुम्बु जिल्ला अध्यक्ष मानबीर राईले विकास विरोधीहरुले गाउँमा विकासको लहर चलिरहेको देख्दा नाटक हो भनेर भ्रम छर्ने कोसिस गरिरहेको उल्लेख गर्दै सुचना र प्रविधिको आजको यूगमा कम्तिमा सहीलाई सही र गलतलाई गलत भन्ने दुस्साहस गर्न अनुरोध गर्नुभयो ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बोलेर भन्दा पनि कामबाट विकास विरोधीहरुलाई उत्तर दिइरहेको उल्लेख गर्दै कायखेत मोटरेबल पुलले कोशीपारीको टापुको रुपमा परिचित वाकु क्षेत्रको सम्बृद्धिको ढोका खुल्ने बताउनुभयो । उहाँले यो मोटरेबल पुलले मेरापिकलगायतका क्षेत्रलाई जोड्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमासमेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । पुलसँगै खानेपानी परियोजना अगाडि बढाउने, सडक सञ्जालले छुन बाँकी रहेको क्षेत्रमा ट्याक ओपन गर्ने, विजुली बत्तिको विस्तार तथा व्यवस्थापन गर्नुका साथै फोरजी टावर सञ्चालन गर्ने प्रतिबद्धता अध्यक्ष राईले जनाउनुभयो ।

कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जिल्लाको हरेक गतिविधिमा सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै विकास विरोधीहरुले कुनै हर्कत गर्न खोजे अपराधीको रुपमा किटान गरी कारबाही गर्ने चेतावनी दिनुभयो ।

करिब  ६ करोड रुपैयाँ लागतमा बन्न लागेको उक्त मोटरेबल पुलका लागि संघीय सांसद कोषबाट १ करोड दश लाख, प्रदेश सरकारबाट २ करोड र बाकी माप्य दुधकोशी गाउँपालिकाको लगानी रहेको छ । गाउँपालिकाकाअनुसार सोही बजेटबाट पुल वरीपरीको बाटो स्तरोन्नतिको कामसमेत हुनेछ ।

करिब ४० टन क्षमता भएको मोटरेबल पुलको आयु ५० वर्षभन्दा बढि रहेको जनाइएको छ ।

Photo By #shikharpost

प्रकाशित मिति : सोमबार, २२ मंसिर २०७७ २३:१६
प्रतिक्रिया दिनुहोस्