Logo

कोरियाले २०२१ मा श्रमिकको आगमनमा कटौती गर्दै


काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरिया सरकारले गत वर्षको तुलनामा श्रमिक आगमनमा कटौती गरेको छ । इपिएस प्रणालीमार्फत भाषा र सीप परीक्षा दुवै उत्तीर्ण गरेर विभिन्न देशबाट श्रमिक लैजाँदै आएकोमा आगामी वर्ष सन् २०२१ का लागि भने श्रमिक आगमनमा कटौती गरेको हो ।

इपिएसअन्तर्गत श्रमिक लैजाने कोरिया सरकारले आगामी वर्ष नेपालसहित विभिन्न १६ देशबाट गरेर कुल ५२ हजार श्रमिकलाई मात्र कोरिया लैजाने दक्षिण कोरियाको श्रमिक कोटा निर्धारण समितिले जनाएको छ । जुन गत वर्षको तुलनामा ४ हजार कमी हो ।

सन् २०२० मा ५६ हजार विदेश श्रमिकलाई कोरिया लैजाने भनिएको थियो । तर, कोरोना भाइरस महामारीले प्रभावित भएको वैदेशिक रोजगारी हालसम्म सहज हुन सकेको छैन । यस अवधिमा पनि दक्षिण कोरिया थोरै मात्रामा जान पाएकाले इपीएस पास भएका करिब ३१ हजार श्रमिक अझै श्रमि जान पाएका छैनन् ।

समितिले गरेको निर्णयअनुसार इपिएस भाषा र सीप परीक्षा प्रणालीमार्फत १६ देशका लागि भनेर आगामी वर्ष तोकिएको ५२ हजारमध्ये विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।

जसमा उत्पादन क्षेत्रमा ३७ हजार ७ सय, कृषि क्षेत्रमा ६ हजार ४ सय, मत्स्यपालन क्षेत्रमा ३ हजार, निर्माण क्षेत्रमा १ हजार ८ सय जना, सेवा क्षेत्रमा (पुरानो समान बटुल्ने र छान्नेमा) १ सय जना तोकिएको जनाइएको छ ।

समितिका अनुसार उक्त कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार पुनः श्रमिक लैजाने भएका छन् । उक्त श्रमिकको लागि अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने जनाएको छ ।

नेपालबाट वार्षिक ५ हजारभन्दा धेरै इपीएस भाषा प्रणालीमार्फत कोरिया रोजगारीका लागि जाने गरेका छन् । तर, सन् २०२१ मा नेपालबाट कति कामदार लैजाने भनेर कोटा निर्धारण भने गरिएको छैन ।

प्रकाशित मिति : शुक्रबार, १० पुष २०७७ १४:००
प्रतिक्रिया दिनुहोस्