उद्यमशील, आत्मनिर्भर तथा स्वरोजगारका लागि थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच एमओयू !
काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
उद्यमशीलता र स्वरोजगारका लागि व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंकबीच वैदेशिक रोजगारीबाट फर्किएको युवालाई विदेशमा सिकेकको सीप स्वदेशमै सदुपयोग गर्ने उद्देश्यले बैंकसँग उक्त सम्झौता गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
सहुलियतपुर्ण कर्जा लिनका लागि क्षमता विकास गरि सक्षम बनाउने, उद्यमशिलताका माध्यमबाट व्यक्तिलाई उत्पादन सँग जोड्ने र रोजगारी सिर्जना गर्ने, उद्यमशिलता र स्वरोजगारको लागि नेपालमै सम्भावना भएकाले सकारात्मक सोचको प्रवदर्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने, लक्षित कार्यक्रमहरुको कार्यान्वयनमा साझा उदेश्य प्राप्तीका लागि सरकारी निकाय तथा वित्तिय संस्थाहरु बीचको समन्वय र सहकार्यको वातावरण तयार गर्ने उदेश्यले सम्झौता भएको छ ।
उक्त सम्झौतामा गाउँपालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फिनान्सियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधनअनुसार थुलुङ दूधकोसी गाउँपालिकासँग सहुलियतमा कर्जा सहजीकरण कार्यक्रम सञ्चालनको सम्झौता गरिएको बैंकले जनाएको छ ।