अरू पार्टीबाट प्रवेश गरेकालाई कांग्रेसले संगठनमा प्रमुख पद नदिने
अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई नेपाली कांग्रेसले संगठनमा प्रमुख पद नदिने भएको छ।हालै बसेको केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी सर्वसम्मत रूपमा यो निर्णय गरेको हो।
कांग्रेसमा मुख्यगरी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, सुनिल थापा नेतृत्वमा राप्रपाकालगायत नेता/कार्यकर्ता प्रवेश गरेका थिए। गच्छदारलाई उपसभापति बनाएको कांग्रेसले थापालाई सहमहामन्त्री बनाइसकेको छ।
अन्य पार्टी छाडेर आएकालाई कांग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा एक समिति बनेको थियो। उक्त समितिको सिफारिसअनुसार केन्द्रीय समितिले समायोजनका मापदण्ड पनि तयार गरेको छ।
कांग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई क्रियाशील सदस्यता दिन सकिने पनि बताएको छ।
‘कांग्रेसमा प्रवेश गरेका र सम्बन्धित जिल्लामा केन्द्रबाट पठाइएका र पठाउने प्रक्रियामा रहेका नामावली टुंगो लगाई सम्बन्धित व्यक्तिले वडामा क्रियाशील सदस्यता फारम भरी तहगत सिफारिस सहित समायोजनको कार्य सम्पन्न गर्ने’ कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयमा उल्लेख छ।
यस्तै कांग्रेसले अरू दलबाट कांग्रेस प्रवेश गरेकालाई प्रमुख पद नदिने पनि प्रष्ट पारेको छ।
‘अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई पार्टीको सांगठनिक संरचनामा समायोजन गर्दा प्रमुख पदबाहेक अन्य पदमा समायोजन गर्ने,’ केन्द्रीय समितिको पुस १९ को बैठकका निर्णयमा भनिएको छ।
अरू पार्टीबाट आएकालाई क्रियाशील दिनुअघि कांग्रेस जिल्ला सभापति, सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति, नगर/गाउँ सभापति, वडा सभापतिले र कांग्रेसमा प्रवेश गरी केन्द्रबाट समायोजन गरिएका साविकको पार्टीको जिल्ला, क्षेत्र, प्रदेश, नगर/गाउँ, वडा तहको आधिकारिक प्रतिनिधिसँग बैठक गरी टुंगो लगाउन भनिएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ मसान्तभित्र क्रियाशील वितरण र नवीकरणका काम गरिसक्न जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय कार्यसमितिले निर्देशनसमेत दिइसकेको छ।