ओली समूहमा ३० प्रतिशत पनि छैन: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली समूहमा ३० प्रतिशत पनि नभएकाे दाबी गरेका छन् । आज काठमाडौंको सुकेधारामा अवस्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित नेकपा सोलुखुम्बुको प्रशिक्षण भेला कार्यक्रममा बाेल्दै प्रचण्डले ३० प्रतिशतबाट पनि आफ्नो समूहमा आउन थालेकाे दाबी गरे ।
आफू पक्ष मुल नेकपा भएको भन्दै प्रचण्डले ओलीपक्षका नेताहरु आफूतिर ल्याउन निरन्तर छलफल भइरहेको बताए । प्रचण्डले हिजोकाे भाषण स्मरण गराउन संकेत गर्दै भने- ‘हिजो मैले भनेअनुसार ओलीसँग भएकाहरू पनि हल्लिन थालिसकेका छन् । यता आउन थालेका छन् । आज बिहान मात्र एक सांसदसँग निर्णायक वार्ता भएकाे छ । आउने क्रम जारी छ ।’
साथै केपी शर्मा ओलीले आफू १ नम्बरकाे अध्यक्ष हुँ भन्दै मनपरी गरेकाे बताए-‘कुनै पनि समझदारी र राजनीतिक प्रतिवेदनमा अध्यक्ष १ नम्बर र २ नम्बर हुने उल्लेख थिएन ।’
साथै बुहमतकाे निर्णय मान्य हुने उल्लेख हुँदाहुँदै ओलीले नमानेकै कारण ओलीकाे सानाे समूह फुटेर गएका दाबी गरे ।
नेकपा प्रतिगमन विरुद्धको संघर्ष समिति, सोलुखुम्बु र सोलु काठमाडौं सम्पर्क मञ्च संघर्ष परिचालन समितिको संयुक्त आयोजनामा विहिबार काठमाडौंको सुकेधारामा अवस्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रशिक्षण भेला कार्यक्रमलाई प्रचण्डसँगै अर्का अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्नुभयो ।
नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का ईन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तथा सह ईन्चार्ज साववित्री कुमार काफ्ले, केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर), केन्द्रीय सदस्य रामचन्द्र झा, शिब कुमार मण्डल, राजेन्द्र बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।
नेकपा सोलुखुम्बु जिल्लाको प्रतिगमन विरुद्ध संघर्ष समिति संयोजक आङ ङिमा लामाको सभापतित्व तथा पार्टी जिल्ला सचिव गोम्बु शेर्पा (कज्र्याङ)को उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा सोलुखुम्बुका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।