Logo

आउदो वर्षभित्रै प्रतिनिधिसभा चुनाव हुने गगन थापाको भविष्यवाणी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले छोटो समयका लागि कांग्रेसले सरकारको नेतृत्व लिएर देशलाई चुनावमा लैजाने बताएका छन् ।

निर्वाचनबाट कांग्रेसले स्पष्ट बहुमत ल्याएर ५ वर्ष स्थिर सरकार चलाउने उनले दाबी गरे ।

तरुण दल स्याङ्जाले बिहीवार भीरकोटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थापाले देशलाई अब कांग्रेसले सम्हाल्ने दाबी गरेका हुन् ।

‘संघको सरकार अब हामी चलाउँछौं, हामी सम्हाल्छौं, धेरै होइन ६–८ महिना सरकार चलाउँछौं र देशलाई निर्वाचनमा लिएर जान्छौं,’ उनले भने, ‘अरुको भाग खोसेर होइन, आफ्नो ताकतका आधारमा विचार लिएर जान्छौं र सानका साथ चुनाव जितेर सरकार चलाउँछौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अब संविधान मिच्न नसक्ने दाबी गर्दै उनले कांग्रेसले दुर्घटनाबाट जोगाउने बताए । ‘१ वर्षभित्र देश चुनावमा जान्छ, त्यसको तयारीमा अहिल्यैदेखि लाग्नुस् । पार्टीको महाधिवेशन सम्पन्न भएको ३ महिनामै चुनावमा जानुपर्ने हुनसक्छ,’ थापाले भने ।

कांग्रेसको महाधिवेशन आगामी भदौ महिनामा हुँदैछ । महाधिवेशनको ३ महिनापछि चुनाव भनेर उनले मंसिर महिनामा प्रतिनिधि सभाको चुनाव हुनसक्ने संकेत गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, ६ चैत्र २०७७ १३:२४
प्रतिक्रिया दिनुहोस्