Logo

माप्य दुधकोशीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धिः साढे तीन सय मिटर सडक स्तरोन्नति, ६१ जनाले पाए रोजगार


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम परिणामुखी भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रममार्फत सदरमुकाम सल्लेरीबाट सगरमाथा क्षेत्र जोड्ने मुख्य सडकको समस्याग्रस्त क्षेत्रमा स्तरोन्नति (सोलिङ)को काम गरिएको छ ।

कार्यक्रमबाट धेरैले रोजगारी पाउनुका साथै काम अत्यन्तै प्रभावकारी र उपलब्धिमुलक रुपमा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत शिवकुमार राईले बताउनुभयो । उहाँकाअनुसार गाउँ कार्यपालिकाले निर्णयअनुसार यस वर्ष प्राथमिकताको आधारमा समस्याग्रस्त क्षेत्रको सडक सोलिङको काम गरिएको हो ।

गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक सुरज मगरकाअनुसार चालु आर्थिक वर्षमा करिब साढे तीन सय मिटर सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ । मगरकाअनुसार काम एकदम राम्रो भएको सबैबाट प्रतिक्रिया आइरहेको र जनप्रतिनिधिहरु पनि काम देखेर खुशी भएका छन् ।

उक्त सोलिङको न्यूनतम चौडाई ३.५ मिटर रहेको छ । जसमा ६१ जनाले प्रत्यक्ष रोजगारी पाए ।

माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर २ स्थित भोरदी टर्निङमा १५० मिटर सडक सोलिङ गरिएको छ । उक्त सोलिङको लागत करिब ६ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ । त्यसैगरी वडा नम्बर ४ डाँडागाउँमा १ लाख ६४ हजार लागतमा ४० मिटर सडक सोलिङको काम गरिएको छ भने र्म्यान्जुमा पनि ६३ मिटर सोलिङ गरिएको छ । जसका २ लाख ५८ हजार रुपैयाँ रहेको छ । वडा नम्बर ३ स्थित रिचेपु खोलामा ७६ मिटर सडक सोलिङको काम सम्पन्न गरिएको छ । उक्त सोलिङ ३ लाख २० हजार रुपैयाँको रहेको छ ।

अविरल वर्षाका कारण उत्पन्न थुप्रैखाले समस्या झेल्नु परेपनि आफ्नै गाउँको विकास गर्ने काममा जोडिन पाउँदा यहाँ काम गर्ने सबै एकदमै सन्तुष्ट रहेको स्थानीय यूवा सुनिल राईको प्रतिक्रिया छ ।

गाउँमा आउने विकास बजेटको प्रभावकारी कार्यन्वयन गर्न, वास्ताविक वेरोजगारहरुलाई सम्बोधन गर्न तथा सबै स्थानीयहरुलाई विकासमा अपनत्व प्रदान गराउनका लागि यस खालका कार्यक्रमहरु आवश्यक रहेको अर्का स्थानीय यूवा बसन्त राईको भनाइ छ ।

१०० जना बेरोजगारलाई १०० दिन काम दिनेलगायतको उद्देश्य रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विशेषगरी पूर्वाधार विकास क्षेत्रको मर्मत सम्भार गर्नेलगायतका कार्य गर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुरुप सार्वजनिक स्थलहरुमा जाने सडक सञ्जाल, पर्यटन, कृषि तथा सिन्चाईलगायत १२ वटा क्षेत्रहरुको मर्मत सम्भार यो कार्यक्रमले समेट्छ ।

प्रकाशित मिति : आईतवार, २७ असार २०७८ १०:२७
प्रतिक्रिया दिनुहोस्