Logo

राप्छामा पाँच दिने आलु चिप्स तालिम सुरु, आत्मनिर्भर बन्नका लागि टेवा पुग्ने विश्वास


सोलुखुम्बु (राप्छा) । सामुदायिक पूर्वाधार तथा जिवीकोपार्जन पुनस्र्थापना गर्ने उद्देश्यका साथ सोलुखुम्बुको राप्छामा पाँच दिने आलु चिप्स उत्पादन तथा बजारीकरण तालिम सुरु गरिएको छ । माप्य दुधकोशी गाउँपालिका र यूएनडीपीसँगको सहकार्यमा राप्छा समता महिला समितिद्धारा उक्त कार्यक्रम बुधबार गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगरले उद्घाटन गर्नुभएको हो । हिमाली स्वास्थ्य र वातावरणीय सेवा, सोलुखुम्बुले पनि कार्यक्रममा साझेदारी गरेको छ ।

समितिकी अध्यक्ष नरमाया राईका अनुसार माप्य दुधकोशी गाउँपालिकाले २ लाख ३९ हजार ४८०, यूएनडीपीले २ लाख ९३ हजार ३३६ र समुदाय स्तरबाट ६५ हजार ५७ रुपैयाँ गरी कुल ५ लाख ९ हजार ७०० रुपैयाँ बजेटमा तालिम सञ्चालन गरिएको हो । यो कार्यक्रमले कृषकसँगै गाउँमै केही व्यवसाय गर्न चाहानेहरुको ज्ञान शीप अभिबृद्धि गर्नुका साथै स्थानीय आयआर्जनमा टेवा पुग्ने विश्वास अध्यक्ष राईले व्यक्त गर्नुभयो ।

गाउँपालिकाको वडा नम्बर २, राप्छास्थित महिला समितिको भवन सञ्चालित उक्त कार्यक्रमबाट ४४० घरधुरी लाभान्वित हुने बताइएको छ । तालिममा वडाको सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी सहभागिता गराइएको आयोजकले जनाएको छ ।

समितिकी अध्यक्ष नरमाया राईको सभापतित्व तथा गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष तेजबहादुर थापा मगर, वडा नम्बर ३ का वडा अध्यक्ष तथा नेकपा एमाले माप्य दुधकोशी गाउँपालिकाका ईन्चार्ज नारायणकाजी कार्की, नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य अजय किराती र वडा नम्बर २ का अध्यक्ष मनोज राई, गाउँ कार्यपालिका सदस्य आसबरी राई र वडा सदस्य चन्द्र बहादुर राई, गाउँपालिका स्वास्थ्य शाखा संयोजक जितेन्द्र यादव, बासाखाली माविका निमित्त प्रधानाध्यापक मानबहादुर राई, दिपेन्द्र आदर्श आविका प्रधानाध्यापक कुमार राई, जनकल्याण आविका प्रधानाध्यापक ध्वजमान विक, पद्मद्वय आविकी पूर्व प्रधानाध्यापक रिखीमाया राईलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यो तालिम गाउँमा निक्कै प्रभावकारी हुने भन्दै यसले महिला सशक्तिकरण र स्थानीय स्तरमा आत्मनिर्भरता बढाउने धारणा राखेका थिए ।

प्रकाशित मिति : बिहीबार, १४ श्रावण २०७८ १२:३८
प्रतिक्रिया दिनुहोस्