प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग राजीनामा, कुलमानलाई नियुक्त गर्न निर्देशन
काठमाडौं, १९ साउन । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।
२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१ बाट उनी कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।
तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।
तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका ततकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको कायममुकायम नेतृत्वमा ल्याइएको थियो ।
प्रधानमन्त्री देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भूसाललाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले प्राधिकारणको सुधार र जनताको चाहना अनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न मन्त्री भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।