शेर्पा बालबालिका सहायता संघको अर्को सत्कर्म: बन्ने भयो सल्लेरीमा अनाथालय
सोलुखुम्बु । शेर्पा बालबालिका सहायता संघले अनाथ र असहाय बालबालिकालाई शिक्षा दिने उद्देस्यले सोलुखुम्बुको सदरमुकाममा अनाथालय निर्माण गर्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ थातिङमा बन्ने अढाई तले भवनको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र संस्थाका अध्यक्ष निमा शेर्पाले संयुक्त रुपमा शिलान्यास गरे ।
१ करोड ९० लाखको लागतमा बन्ने उक्त संरचना निर्माणमा सोलुदुधकुण्ड नगरपालिकाले साझेदारी गर्ने जनाईएको छ । उक्त भवन निर्माणका लागि स्थानीय समाजसेवी चेङा शेर्पाले २ रोपनीजग्गा शेर्पा बालबालिका सहायता संघका नाममा निशुल्क उपलब्ध गराएका हुन् ।
२० जना अनाथ बालबालिका राख्न सकिने नेपाल चिल्ड्रेन होम नाम दिईएको उक्त परियोजना १ बर्ष भित्र निर्माण सम्पन्न हुने संस्थाका अध्यक्ष निमा शेर्पाले बताए ।
कार्यक्रममा नगर प्रमुख शेर्पाले सामाजिक सुरक्षाको क्षेत्रलाई स्थानीय सरकारले सधैँ प्राथमिक्ता दिएको भन्दै नगरपालिकामा बन्ने अनाथालायले जिल्ला भरका अनाथ बालबालिकाहरुको उद्धार गर्ने बताए ।
सो कार्यक्रममा फ्रान्सेली दातृ निकाय एशोसियसन फ्रान्स नेपाल चिलड्रेन होमका संस्थापक निनो र वडा नम्बर ६ का वडाअध्यक्ष फुरी शेर्पाको उपस्थिति रहेको थियो ।
स्थानीय अगुवाहरुको उपस्थितिमा भएको कार्यक्रममा बौद्ध परम्परा अनुसार मोन्दोपाके गुम्बाका प्रमुख लामाको टोलीले धार्मिक पूजा पाठ गरेका थिए ।