दिप्लीघाटस्थित भत्किएको पुल तत्काल पुन:निर्माण सुरु गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदीको भत्किएको पुल तत्काल पुन:निर्माण सुरु गर्न भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका छन् ।
अविरल वर्षाका कारण आएको बाढिले दिप्लीघाटको बेलिब्रिजलाई क्षतिग्रस्त बनाएपछि सोमबार यसबारे ध्यानाकर्षण गर्न पुगेको जिल्लाका स्थानीय तहका जनप्रतिनिधि नेतृत्वको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको नेतृत्वमा कोशीपारिका सोताङ र महाकुलुङ गाउँपालिकाका अध्यक्षद्धय खिलाराज बस्नेत र सूर्य कुलुङ, व्यवसायी बलराम गुरुङ, थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीलगायतको टोली सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका थिए ।
टोलीले उक्त भेट्मा यथाशिघ्र बेलिब्रिज पुल गर्न ध्यानाकर्षण गराएको थियो । पुल भत्किएर सोलुखुम्बुका दुई स्थानीय तहको सम्बन्ध विच्छेद भएको र जनताले पाएको कष्टका बारेमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले प्रधानमन्त्री प्रचण्डलाई अवगत गराएका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले दिप्लीघाटमा पुल तत्काल निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।
अध्यक्ष असिम राईका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुल निर्माणका लागि प्रधानमन्त्री कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र नै लेखेको छ । र सम्बन्धित मन्त्रालयले समेत सम्वद्ध विभागलाई यथाशक्य पुन निर्माण थाल्न निर्देशन गरिसकेको बुझिएको छ ।