सल्लेरी-काँकु-बासा हुँदै खुम्बु जोड्ने सडक कालोपत्रेको शिलान्यास, एकपक्षीय भएको भन्दै माप्य दुधकोशीको आपत्ति
सोलुखुम्बु, ३ असोज २०८० । सोलु दूधकुण्ड नगरपालिकाको सल्लेरी जिरोपोइन्टबाट सिलगुडी डाँडा-काँकु-बासा-ओर्लाङघाट-जुभिङ हुँदै खुम्बु जोड्ने सडक खण्ड कालोपत्रेको शिलान्यास गरिएको छ । सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले वडा नं ४, शेर्गाखोपमा बुधबार एक कार्यक्रम आयोजना गरी शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले यो सडक माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाका जनताको ‘लाइफ लाइन’ सडक भएकाले यसलाई समयमै सम्पन्न गर्नुपर्ने दायित्व रहेको धारणा राखेका थिए ।
यसैबीच, माप्य दुधकोशी गाउँपालिकाले भने नगरपालिकाका मेयरले एकपक्षीय ढंगबाट परियोजनाको शिलान्यास गरेको भन्दै आपत्ति जनाएको छ । विगतको सहमतिलाई लत्याउँदै मेयर शेर्पा आफूले मात्रै कामको जस लिन उद्दत भएको भन्दै त्यसविरुद्ध गाउँपालिकाले बुधबार प्रेस विज्ञप्ति नै जारी गरेको हो ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरब राईसहित गाउँपालिकाका सातै वडाका वडाध्यक्षहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत मेयर शेर्पाको उक्त कदमले सडक कालोपत्रे गर्नका लागि पहल गर्ने पक्षहरुको अपमान भएको भन्दै भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा माप्य–खुम्बु मितेरी सडक नामाकरण गरी पूर्व संघीय सांसद हेमकुमार राईले सो सडक निर्माणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा माप्य दुधकोशी गाउँपालिका, वर्तमान सांसद मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाको पहलमा कार्यक्रम स्वीकृत भएको दाबी गरिएको छ ।
यो सडकका लागि माप्य दूधकोशी गाउँपालिकाले डिपीआर तयार गरी मन्त्रालयबाट योजना स्वीकृत गराएको तथ्यसमेत ओझेलमा पार्ने काम मेयर शेर्पाले गरेको आरोपसमेत विज्ञप्तिमार्फत लगाइएको छ । माप्य दूधकोशी गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यक्रम शुरु हुन लागेको अवस्थामा निर्माण कम्पनीको स्वीकृतिवेगर आफ्नो नाम राखेर एकलौटी ढंगले शिलान्यासको नाटक गर्नु, विगतमा भएका सहमति र सम्झौता विपरित भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खास परियोजना कसरी सुर भयो र यो बीचमा के के भयो ?
नगरपालिकाको शेर्गाखोपबाट सुरु भई माप्य दुधकोशी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने यो एकमात्र सिधा सडक खण्ड हो ।
जिल्लाको सामाजिक, आर्थिक र पर्यटन बिकासको निम्ति खुम्बु क्षेत्रलाई छिटोभन्दा छिटो सडक सञ्जालसँग जोड्ने उद्देश्यका साथ तत्कालिन संघीय सांसद हेमकुमार राई ‘शूरवीर’ले २०७६ साल फाल्गुन २५ गतेको दिन यस सडक खण्ड कालोपत्रेलाई निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा समावेश गर्न भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गर्नुभएको थियो ।
सोहीअनुरुप निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा उक्त परियोजना छनोट भएको थियो । २०७९ पुस २७ गते आह्वान भएको टेण्डरअनुसार ललितपुरको चम्पेश्वर पी. एम. निर्माण जे.भि. नामक कम्पनीले सोको निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीले २०८० असार २७ गतेबाट कालोपत्रेको काम सुरु गरी २०८३ असार २७ गते सम्पन्न गरिसक्नुपर्ने छ ।
माप्य दुधकोशी गाउँपालिकाले गरेको डिपिआरअनुसार सिलगुढी डाँडाबाट कालोपत्रे सुरुवात गर्नेगरी टेण्डर प्रक्रिया अघि बढिरहेको बेला नगरपालिकाले शेर्गाखोप जिरो पोइन्टबाटै कालोपत्रे गर्नुपर्ने पहल लिएपछि उत्पन्न अन्यौलताबीच दुई स्थानीय तहबीच छलफल भएको थियो ।
विभिन्न चरणको छलफलपछि नगरपालिकाको शेर्गाखोप जिरोपोइन्टबाटै कालोपत्रे सुरु गर्ने दु सहमति भई काम अघि बढाईएको थियो ।