कोरियाको जोङ्गाकमा अनेसासको बृहत साहित्य मेला, श्रष्टाहरुले रचना वाचन गर्ने
दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा अनवरत रुपमा सक्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन महान चाड छुसकको अवसरमा बृहत् साहित्य मेला आयोजना गर्दैछ ।
छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८ बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा अवस्थित हिमालय रेस्टुरेन्टको सभाहलमा सो कार्यक्रम गर्न लागिएको हो ।
नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना श्रष्टाहरुको रचनाहरु वाचन हुनेछन् । कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसुका दमदार कविता वाचन हुनुका साथै गजलकारहरु ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपकले गजलमार्फत नेपालीपन पस्कने छन् ।
त्यसैगरि मुक्तक विधामा मुक्तककारत्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका चोटीला मुक्तकहरुले कार्यक्रमको रौनकता थप्नेछन् ।
उपस्थित श्रष्टाहरुले पनि रचना वाचन गर्न पाइने भएकोले रचना सुन्ने र सुनाउने यस कार्यक्रममा पुग्नका लागि ट्रेन नं १ जोङ्गाक स्टेसनको ४ नं गेटबाट निस्केर दायाँपट्टि रहेको हिमालय रेष्टुरेन्ट पुग्नेछन् ।