Logo

महराको बलात्कार उद्योग मुद्दामा अन्तिम सुनुवाइ सुरु


काठमाडौ- पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौमा विचाराधीन जबर्जस्ती करणी उद्योगको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको बन्द इजलाशमा महराको अन्तिम सुनुवाइ आइतवारवाट सुरु भएको हो। महराको मुद्दा तेस्रो नम्वरमा पेशी छ।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षाका लागि थुनामा रहेका पूर्वसभामुख महराको पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्।
महराको बकपत्र सुरु भएको छ। उनलाई जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराइएको हो। यसअघि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश सुर्दशन पाण्डे उच्च अदालतको न्यायाधीश भएपछि अर्का न्यायाधीश पौडेलको इजलाशले बकपत्र गराएको थियो।

सरकारी वकिल र अन्य साक्षीको बयान समाप्त भएपछि अन्तिम सुनुवाइको पेशी तोकिएको थियो । महराका वकिल र सरकारी वकिलले आ–आफ्नो बहस गरेपछि जिल्ला अदालतले फैसला सुनाउने छ। महरा पक्षका कानुन व्यवसायी धेरै भएकाले केही दिन लाग्ने अनुमान जिल्ला अदालतले गरेको छ।

जिल्ला न्यायाधीश पाण्डेको इजलाशले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारागार बसिरहेका छन्। यसअघि महरा धरौटीमा छुट्ने आस गर्दै उच्च अदालत पाटनसम्म पुगेका थिए। तर उच्चले धरौटीमा छोड्नेभन्दा एक महिना छिटो किनारा गर्न आदेश गरेको थियो।

संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो।

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ २१:२८
प्रतिक्रिया दिनुहोस्