Logo

गायिका आस्था राउतलाई अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी


गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ।

प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा राउतमाथि कारबाही हुने भएको हो।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउतमाथि कारबाही गर्ने भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको छ।

उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्।

सो प्रतिवेदनको आधारमा राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

‘प्रतिवेदन प्राप्त भएको छ, सो प्रतिवेदन थप अध्ययनसमेत गरेर गायिका राउतलाई कानुनी दायरमा ल्याउँछौं,’ प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भने।

प्रहरी जवान श्रेष्ठको दाबी पुगे गायिका राउतमाथि अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढाउने प्रहरीको तयारी छ।

राउतले अहिलेसम्म कानुनी रूपमा प्रहरीमा कुनै उजुरी गरेकी छैनन्।

‘राउतले गल्ती गरेको रहेछ भने कानुन बमोजिम कारबाही हुन्छ,’ पोखरेलले भने।

श्रेष्ठले ड्युटीका बखत गल्ती गरेको भए उनीमाथि पनि आचरण-व्यवहारमा कारबाही हुने पोखरेलले बताए।

यस्तै, राउतले सो घटनालाई लिएर बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ।

सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसूरमा अनुसन्धान गरिने महानगरीय कार्यालयले जनायो।

‘सो भिडिओमा प्रहरीमाथि जुन किसिमको अपशब्द र संगठनकै मान मर्यादामा चोट पुर्‍याउने किसिमको शब्द उल्लेख छ, त्यसले साइबर अपराधसम्मको कारबाही आकर्षित गर्छ,’ रानीपोखरीकै एक अधिकृतले भने।

ती दुबै भिडिओ अनुसन्धानमा प्रहरी जुटेको छ। दुबै भिडिओ अनुसन्धानपछि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं वा गौशाला वृत्तलाई जिम्मा लगाउने तयारी रहेको मेट्रोले जनायो।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घटना भएको थियो।

कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्यवहार गरेको देखिएको साहले बताए।

के भएको थियो?

बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षामा खटिएकी प्रहरी जवानले ज्याकेट फुकाल्न लगाएकी थिइन्।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुन: चेकजाँच गर्छिन्। यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्। सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन्। चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्। केहीबेरमा कपबाट कफी पोखिन्छ र राउतको ज्याकेट भिज्छ। यसक्रममा राउतले प्रहरी कर्मचारीप्रति आक्रोश पोख्छिन् र त्यहाँबाट निस्किन्छिन्।

यी पनि:

रुँदै माफी मागिन् आस्था राउतले

गायिका आस्था राउतको आक्रोश – ठूला पदका प्रहरीले मात्रै आइस्योस्, गइस्योस् भन्ने?

गायिका राउतमाथि विमानस्थलमा प्रहरीले गरेको ‘दुर्व्यवहार’बारे छानविन गरिने

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ १७:४८
प्रतिक्रिया दिनुहोस्