Logo

सांसद हेमकुमार राई भन्छन् ‘तिङ्ला घटना विकास विरोधी र अराजक तत्वहरुको नियोजित खेल हो’ (भिडियोसहित)


सोलुखुम्बु, ४ माघ । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राईले तिङ्लाको झडप विकास विरोधी र अराजक तत्वहरुले नियोजित रुपमा गराएको प्रतिक्रिया दिएका छन् । समग्र तिलाबासीको जायज माग पूरा गर्न आफुहरु कटिबद्ध रहेको भन्दै उनले भ्रम छर्न खोज्नेहरुलाई आमने सामने आएर बहस गर्न चुनौतिसमेत दिए ।

तिङ्लाको लाम्मानेमा भएको झडपपछि सदरमुकाम सल्लेरीमा पत्रकार सम्मेलन गर्दै सांसद राईले आफु तिङ्लाका जनताको जायज माग सम्बोधन गर्नका लागि लाम्माने पुग्दा ती अराजक तत्वहरुले मुठभेड गरेको आरोप लगाएका छन् ।

झडपमा कार्यकर्ताको १४ वटा मोटर साईकल र एउटा गाडि जलाइएको उनले बताएका छन् ।

आफु सदैव तिङ्लाली जनताको पक्षमा रहेको भन्दै सांसद राईले प्राधिकरणको निम्तोमा विद्युत उद्घाटन गर्न पत्ताले गएको र बाटोमा असन्तुष्टहरुलाई सम्बोधन गर्ने तयारी गर्दा मुठभेडमा जनतालाई उतारिएको आरोप लगाए । २ वर्षभित्र जिल्लाको सबै ठाउँलाई उज्यालो बनाउने अभियानस्वरुप आफुहरु लागिरहेको भनाइ उनको थियो ।

घटनालाई साम्य पार्न स्थानीय प्रशासनले कुनै भूमिका निर्वाह नगरेको भन्दै घटनाको जिम्मा प्रशासनले नै लिनुपर्ने उनको भनाई छ । पत्रकार सम्मेलनमा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत र थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जिल्लाको सबै ठाउँमा विद्युतको पहुँच पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् ।

भिडियो:

प्रकाशित मिति : शनिबार, ४ माघ २०७६ २३:१६
प्रतिक्रिया दिनुहोस्