Logo

त्रिवेणी धाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने


काठमाडौ, ९ माघ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । १६ देखि २४ माघसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाममा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको जानकारी गराइयो।

कथावाचक इश्वरकृष्ण महाराजले त्रिवेणी धार्मिक हिसाबले र आफैमा अति रमणीय पवित्र स्थान भएकोले सबैलाई एक पटक जान आग्रह गरे । उनले भने,‘नेपालमा धार्मिक क्षेत्रबाट पर्यटनको विकास गरी समृद्धी हासिल गर्न सम्भव छ ।’

कार्यक्रमका प्रमुख अतिथि तथा बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु खेम्पो कमल भण्डारीले महायज्ञमा माघ १६ र १७ गते मात्र प्रवचन दिने बताए । उनले नेपाल जात, धर्म र प्राकृतिक धरातलले विश्वमा प्रख्याँत रहेकोपनि जानकारी दिए । उनले विदेशबाट आउने पर्यटकहरु अधिकांश नेपालमा धार्मिक कारणले आउने गरेको बताए ।

हिन्दु र बौद्ध धर्मको दृष्टि फरक भएपनि चर्या एउटै हुने त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले जानकारी दिइन् ।

महायज्ञ मूल समारोह समितिका उक्त कार्यक्रममा प्रमुख अतिथिहरु हिन्दु धर्मका ईश्वर कृष्ण महाराज र बौद्ध धर्मका तर्फबाट खेम्पो कमल भण्डारी रहेका थिए । नुवाकोटको त्रिवेणी धाममा १ लाख पर्यटक भित्राउने योजना रहेको बताएका छन् ।

कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष श्रीराम कृष्ण थापाले महायज्ञका माध्यमले त्रिवेणीधामबारे विश्वभर जानकारी गराउने लक्ष्य राखिएको बताए । त्रिवेणी तीन खोला वा नदीको संगम भएकाले अति पवित्र पुण्य स्थानको रुपमा मानिने भएकाको नेपालमा मात्र नभएर पुरै विश्वमा नै यसबारे प्रचार हुनुपर्ने बताए । थापाले उक्त स्थानमा धर्मशालाको निर्माण, विभिन्न देवीको देवताको मन्दिर निर्माण र ध्यान केन्द्रको निमार्ण तथा बौद्धमार्गीहरुको लागी गुम्बा निर्माण गर्ने कार्य हाल भइरहेको जानकारी दिए । महायज्ञबाट संकलित रकम त्रिवेणीधामको पूर्वाधार विकासमा खर्च हुने उल्लेख गरे ।

त्रिवेणी धाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले उक्त धाममा सबैलाई एकपटक आई धार्मिक कार्यमा सहयोग गर्न आग्रह गरिन् । उनले धामको महत्वबारे प्रकाश पारेकी थिइन् ।

महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष रमेश कुमार पाठकले नेपाल र नेपालको पनि त्रिवेणी बनाउन त्रिवेणीधामले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्रिवेणीधामको महायज्ञले सबै पार्टीलाई पनि एकताको शुत्रमा बाँकी विकासको काममा अघि बढाउने आशा बढेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी संघिय क्षेत्र न. १ का अध्यक्ष पदम उप्रेतीले सबै धर्मको प्रतिमा स्थापना गर्दै सम्पुर्ण जाती धर्मलाई संगै अगाडि लानुपर्ने बताए । उनले धार्मिक सहिष्णुता राख्दै समृद्ध नुवाकोट, समृद्ध शिवपुरी हुनेमा उक्त महायज्ञ कोषेढुंगा हुने आशा व्यक्त गरे । समृद्ध नेपाल हुनमा सबैको भुमिका हुने भन्दै महायज्ञले त्यस दिशातर्फ प्रेरित गर्ने बताए ।

प्रकाशित मिति : बुधबार, ८ माघ २०७६ २०:३३
प्रतिक्रिया दिनुहोस्