Logo

पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ


काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएका छन्।  सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकाले महरा निर्दोष ठहर भएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिए ।

 

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन्। पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।

जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
प्रकाशित मिति : सोमबार, ५ फाल्गुन २०७६ १५:३५
प्रतिक्रिया दिनुहोस्