Logo

‘सगरमाथा संवाद’ स्थगित


काठमाडौं- सरकारले पहिलोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ स्थगित गरेको छ। परराष्ट्र मन्त्री ज्ञवालीले बढ्दो कोरोना भाइरसको संक्रणका कारण जनस्वास्थ्यलाई ध्यानमा राख्दै सम्मेलन स्थगन गर्ने निर्णयमा सरकार पुगेको बताए।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै ‘सगरमाथा संवाद’ स्थगित गर्ने निर्णय गरेको थियो। मन्त्री ज्ञवालीले कोरोना संक्रणको ‘ग्लोबल ट्रेन्ड’ विश्लेषण गरेर संवादका लागि अर्को मिति तय गर्ने जानकारी दिए। आफूहरु आगामी नोभेम्बरमा हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन (कोप-२६) अघि नै सगरमाथा संवाद आयोजना गर्ने सोचमा रहेको पनि उनले जानकारी दिए।

‘कोरोना संक्रणको ग्लोबल ट्रेन्ड विश्लेषण गरेर यो अलि मत्थर हुँदै गइसकेपछि अर्को मिति फिक्स गर्नेछौं,’ सोमबार परराष्ट्र मन्त्रालयमा सम्मेलन स्थगन गरेको बारे जानकारी दिन आयोजित ‘प्रेस ब्रिफिङ’मा मन्त्री ज्ञवालीले भने, ‘हाम्रो सोच चाहिँ आउने कोप नोभेम्बर २६ (संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन)भन्दा अगावै आयोजना गरेर हामीजस्ता मुलुक सम्मेलनमा सशक्त ढंगले जाने गरी त्यसलाई ‘लिङ्कअप’ गर्ने हाम्रो सोच छ।’

चैत २० देखि २२ सम्म आयोजना हुन लागेको कार्यक्रमका लागि विश्व समुदायबाट निकै चासो व्यक्त भएको मन्त्री ज्ञवालीले दाबी गरे। हिजोसम्म १० मुलुकबाट उच्च र २० मुलुकबाट राजनीतिक सहभागिताका लागि ‘कन्फमेसन’ पाएको पनि उनले जानकारी दिए।

नेपालले पहिलोपटक आयोजना गर्न लागेको कार्यक्रमको नारा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ रहेको छ।
सगरमाथा संवादको तयारीस्वरुप गत माघ २६ गते परराष्ट्र मन्त्रालयले राष्ट्रिय संवाद पनि आयोजना गरेको थियो।

सरकारले २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको थियो। जसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ प्रधानमन्त्री ली खछियाङ तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म छन्।

परराष्ट्र मन्त्रालयको पहलमा हुन लागेको संवादमा विज्ञसहित करिब एक सय ५० अन्तर्राष्ट्रिय सरोकारवालालाई निमन्त्रणा गरिएको छ।

प्रकाशित मिति : सोमबार, १९ फाल्गुन २०७६ १८:५४
प्रतिक्रिया दिनुहोस्