Logo

पूँजीगत खर्च लक्ष्यअनुसार हुन्छः मन्त्री आङ्बो


विराटगनर । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रापत गरेको चालु वर्षको बजेट खर्च गर्न नसक्ने देखिएको छ ।

चालु आर्थिक वर्षको दोश्रो चौमासिक सकिदासम्म अन्य मन्त्रालयको तुलनामा न्यून बजेट खर्च भएपछि सरकारले ती मन्त्रालयहरुको बजेट रकमान्तर गर्ने तयारी गरेको छ ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा यसअघि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले दुई मन्त्रालयले प्राप्त गरेको बजेट खर्च गर्न नसक्ने जानकारी दिनुभएको हो । ‘पर्यटन र कृषिको खर्च अपेक्षित रुपमा हुन सकेको छैन,’ मन्त्री आङ्बोले भन्नुभयो ‘उत्साहजनक रुपमा बजेट खर्च नहुने त देखिसकियो तर केही बजेट खर्च हुने अवस्था छ ।’ उहाँले खर्च गर्नका लागि बलियो संयन्त्र नहुँदा खर्च हुन नसकेको र आगामी दिनमा त्यस विषयलाई सरकारले ध्यान दिने उहाँले बताउनुभयो ।

सरकारले बजेट खर्च गर्न नसक्ने सम्भावना भएका मन्त्रालयहरुबाट रकमान्तर गर्ने तयारी गरेको छ । मन्त्री आङ्बोले विनियोजन ऐनले व्यवस्था गरे अनुसार १० प्रतिशतभित्र रहेर रकमान्तर गर्ने जनाउ पनि दिनुभएको छ । उहाँले भन्नुभयो ‘विनियोजन ऐनमा उल्लेखित १० प्रतिशतको सिमाभित्र बसेर रकम खर्च गर्छौं । चालु तथा प्रभावकारी रुपमा बढेका आयोजनामा बजेट अभाव हुन दिँदैनौं ।’ यस अनुसार यि दुई मन्त्रालयबाट झण्डै २ अर्ब जति बजेट रकमान्तर हुने सम्भावना छ ।

विगतमा रकमान्तर गर्दा आफ्नो निर्वाचन क्षेत्र, कार्यकर्ता वा पार्टीको प्रभावमा योजना वितरण गर्ने प्रवृत्ति भएपनि अहिले त्यस्तो सम्भव नरहेको र वार्षिक विनियोजनमा भएका योजनाहरुमा मात्र बजेट दिइने मन्त्री आङ्बोले जानकारी दिनुभयो । त्यसमा पनि दु्रतगतिमा काम भएका र बजेट नपुगेका योजनाहरुलाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।

मन्त्री आङ्बोले सरकारका मन्त्रालयहरु मध्ये भौतिक पूर्वाधार, सामाजिक विकास र आन्तरिक मामिला मन्त्रालयको काम सन्तोषजनक रहेको जानकारी दिनुभयो । उहाँले सडक पूर्वाधारमा बजेट राम्रो खर्च भइरहेको र बहुवर्षीय सडक तथा पुलहरुको निर्माणमा राम्रो प्रगति भइरहेको जानकारी दिनुभयो ।

वार्षिक कार्यक्रममा रहेका १ सय ८२ सडकको काम भइरहेको र यी योजनाहरु सम्पन्न भइसक्दा ७ सय ८४ किलोमिटर नयाँ कालोपत्रे सडक थपिने मन्त्री आङ्बोले जानकारी दिनुभयो । उहाँले बहुवर्षीय सडक कार्यक्रम अन्तर्गत १ सय ७६ किलोमिटर अलवेदर ग्राभेल सडक बन्ने जानकारी दिनुभयो । अहिले नियमित कार्यक्रम अन्तर्गत भइरहेका सडक, पुल, झोलुङ्गे पुलहरुको काम अगाडि बढिरहेको खानेपानी र सिंचाइका योजनाहरु पनि सन्तोषजनक रुपमा अगाडि बढेको उहाँको भनाइ छ ।

मन्त्री आङ्बोले प्रदेश १ ले पूँजीगततर्फ २८ प्रतिशत बजेट खर्च गरिसकेको र भौतिक प्रगति धेरै भइसकेकोले खर्चको रेसियो बढ्ने जानकारी दिनुभयो । उहाँले प्रदेश १ देशमै धेरै पूँजीगत बजेट खर्च गर्न सक्षम रहेको जानकारी दिनुभयो । लक्ष्यअनुसार बजेट खर्च हुने र पूर्वाधार क्षेत्रमा गुणात्मक परिणाम हासिल हुने उहाँको दावी छ ।

प्रकाशित मिति : सोमबार, ३ चैत्र २०७६ ०६:५९
प्रतिक्रिया दिनुहोस्