Logo

‘द भोइस अफ किड्स सिजन ३’ का गणेश विश्वकर्मालाई जिताउन अभियान सुरु, समिति गठन


काठमाडौं, १३ साउन । अहिले जारी द भोइस अफ किड्स सिजन ३ का प्रतियोगी सोलुखुम्बुका गणेश विश्वकर्मा जिताउनका लागि अभियान सञ्चालन गरिने भएको छ । सोलुखुम्बु विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष रुद्रबहादुर घतानीको अध्यक्षता तथा सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्यतामा आइतबारसम्पन्न काठमाडौं भेलाले एक समिति नै गठन गरेको छ ।

गणेश विश्वकर्मा जिताउ समिति नाममा गठित उक्त समितिले गणेश विश्वकर्मालाई द भोइस अफ किड्स सिजन ३ मा जिताउनका लागि देशविदेशमा व्यापक प्रचारप्रसार गर्ने तथा भोटिङका लागि आवश्यक आर्थिक अभियान संकलन गर्नेलगायतको काम गर्ने बताइएको छ ।

विजय गुरुङको संयोजकत्वमा गठित उक्त समितिको सहसंयोजकमा सरोज विश्वकर्मा, सदस्यहरुमा रमेश राई, सुनिता गुरुङ, टंक कालिकोटे, गोकर्ण बस्नेत, प्रमोद राई, सरमान राई, जीवन विश्वकर्मा रहेका छन् । त्यस्तै सोही भेलाले गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको संयोजकत्वमा रुद्रबहादुर घतानी, डाकबहादुर रणपाल, दुर्लभ जन्तरे, कल्पना राई, धनकमुमार विश्वकर्मा (ए) र उर्मिला विश्वकर्मा संलग्न एक सल्लाहकार समितिसमेत गठन गरेको छ ।

सोलुखुम्बु सोताङका गणेश विश्वकर्मा द भोइस अफ किड्स सिजन ३ मा टिम मेलिनाबाट आफ्नो गायन क्षमता प्रस्तुत गर्दै ब्लाइण्ड राउण्ड, ब्याटल राउण्ड हुँदै हाल लाइभ राउण्डमा पुगेका छन् । लाइभ राउण्डबाट अगाडि बढ्नका लागि आफ्ना गायन क्षमतासँगै खुल्ला भोटिङसमेत हुने भएकोले अभियान समिति नै गठन गरेर अभियान सञ्चालन गरिएको बताइएको छ ।

समाजका अध्यक्ष रुद्रबहादुर विश्वकर्माले गणेश विश्वकर्मा जिताउ अभियानमा जोडिनका लागि सबैलाई आह्वान गर्नुभयो । ‘दुरदराजको गाउँ अनि गरिब परिवारमा जन्मेका गणेश विश्वकर्मा भाई आफ्नो कला र गलाको माध्यमबाट आज राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता द भोइस अफ किड्सको लाइभ राउण्डमा आइपुग्नु हामी सबैका लागि निक्कै खुशी कुरा हो’ अध्यक्ष विश्वकर्माले शिखरपोष्टसित भन्नुभयो ‘सबैले आआफ्नो ठाउँबाट सक्ने सहयोग गर्नका लागि अनुरोध गर्दछु ।’

उक्त भेलाबाट गणेशको कला र प्रतिभालाई विभिन्न माध्यमबाट बाहिर ल्याउने सोताङ पब्लिक क्याम्पसको स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियनका सभापति प्रमोद राई, गाउँबाट काठमाडौंसम्म ल्याई विभिन्न रुपमा सहयोग गर्ने माप्य दुधकोशी गाउँपालिका वडा नं. १, जुभिङ निवासी नवगायक तथा मोडल जीवन विवश्वकर्मा, द भोइस अफ किड्समा सहभागि गराउन सहयोगी भूमिका निर्वाह गर्ने गायक तथा संगीतकर्मी दुर्लभ जन्तरेलगायतप्रति आभार तथा धन्यवाद ज्ञापन गरिएको छ ।

प्रकाशित मिति : आईतवार, १३ श्रावण २०८१ २२:३९
प्रतिक्रिया दिनुहोस्