Logo

व्यावसायिक सफलतासँगै सामाजिक कर्ममा दावा गीयर, २ सय जनाबढी अपाङ्ग तथा वृद्धवृद्धालाई न्यानो ज्याकेट वितरण


काठमाडौं १२ माघ २०८१ : । गौतम बुद्धको एउटा भनाइ छ ‘आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।’ दावा टसी शेर्पा र फुरलामू शेर्पाको जोडीले गरेको कर्मले यो कुरा प्रमाणित गर्दछ । शेर्पा दम्पती नेपाली बजारमा स्थापित ब्राण्ड ‘दावा गियर’का सञ्चालक हुन् । र, दावा गीयरले हरेक वर्ष अपाङ्ग, असाहय तथा अनाथ बालबालिका, ग्रामिण क्षेत्रका वृद्धवृद्धाहरुलाई चिसो मौसममा न्यानो ज्याकेट वितरण गर्दै आइरहेको छ । मिडियाबाजी र होहल्ला गर्दै हिड्नुभन्दा आफ्नो कर्मबाट प्राप्त मुनाफाको केही हिस्साले हरेक वर्ष यस्तै निस्वार्थ सेवा गरेर अपार खुसी लिइरहेको छ शेर्पा दम्पतीले ।

शनिबार गोकर्णेश्वर नगरपालिका नारायणटारमा अवस्थित नेपाल अपाङ्ग संघअन्तर्गत खगेन्द्र नवजीवन आवासीय गृहमा पुनस्र्थापित अशक्त, असाहय तथा बृद्धबृद्धाहरुलाई न्यानो ज्याकेट वितरण गरिरहेको अवस्थामा भेटिएका शेर्पा दम्पती भन्छन् ‘पैसा बढि भएर होइन, हाम्रो ब्राण्ड मन पराएर ग्राहकले किन्दा हुने केही नाफाबाट सबैको मुहार उज्यालो हुँदा हामीलाई साच्चै खुशी लाग्छ ।’ दावा गीयरले बिगत सन् २०१७ बाट हरेक वर्षको चिसो मौसममा गरिबीको रेखामुनी रहेका अशक्त, असाहय, बृद्धबृद्धा तथा मानव आश्रमहरुमा न्यानो ज्याकेट वितरण गर्दै आइरहको हो ।

सोही क्रममा दावा गीयरले शनिबार काठमाडौंको विभिन्न स्थानमा रहेको संघसंस्थामा बस्ने अपाङ्गता भएका २०० जना भन्दा बढिलाई न्यानो ज्याकेट वितरण गरेको छ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन आवासीय गृह, नयाँ पाटीस्थित दृष्टीविहिन आमाघर सामाजिक संस्था र तारकेश्वरमा अवस्थित अपाङ्ग सेवामा न्यानो ज्याकेट वितरण गरेको दावा गीयरका सञ्चालक फुरलामू शेर्पाले जानकारी दिनुभयो । ‘यो हामीले कहिकतैबाट डोनेशन उठाएर ल्याएको पैसा नसम्झिदिनु होला’ ज्याकेट वितरण गर्दै उहाँले भन्नुभयो ‘हामीले हाम्रो कम्पनी दावा गीयरको उत्पादन विक्री वितरण गर्दा कमाएको नाफाको केही प्रतिशत रकमबाट अशक्त, असाहय तथा बृद्धबृद्धाहरुलाई हरेक वर्ष न्यानो ज्याकेट वितरण गर्दै आइरहेका छौं । त्यसकै निरन्तरतास्वरुप तपाईहरुलाई यसरी ज्याकेट वितरण गरिरहेका छौं ।’

दावा गीयरका सञ्चालक दावा टसी शेर्पाले बार्षिक आयआर्जन गरेको नाफाबाट कपडा वितरण गर्ने वार्षिक कार्यक्रम तय गरेर अघि बढिरहेको उल्लेख गर्दै ब्राण्ड रुचाईदिनुभएकोमा ग्राहक वर्गमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्रत्येक वर्ष प्राप्त माग र आवश्यकताका आधारमा फरक फरक ठाउँ र व्यक्तिलाई ज्याकेट वितरण कार्यक्रम गर्ने गरेको जानकारी दिनुभयो ।

दावा गीयरका संचालक दावा टसी शेर्पा ११ ले वर्षको कलिलो उमेरबाट पदयात्रा तथा पर्यटन क्षेत्रमा निरन्तर संघर्ष गर्दै पछिल्लो पटक विभिन्न स्तरको तालिम गर्नुभयो । यस क्षेत्रमा काम गर्ने क्रममै सन् २०१४ अप्रिल १८ मा खुम्बु आईस्फलमा गएको हिमपहिरोमा परी ठूलो चोट लागेपछि भविष्यमा पर्वतारोहणको विकल्पमा अरु के गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै जाँदा दावा गीयरको स्थापना गर्न पुग्नुभयो । शेर्पा दम्पतीले ५० पीस कटनको टिसर्टबाट औपचारिक रुपमा सन २०१५ बाट सुरु गर्नुभएको हो । दावा गीयर नेपाली उत्पादन ब्राण्ड त हो नै इच्छाशक्ति भए आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने एउटा उदाहरण पनि हो यो ।

पछिल्लो पटक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहण तालिम प्राप्त गर्नुका साथै पर्वतीय गाइड प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएका उहाँ नेपाल माउन्टेन लिडर एसोसिएशनको वर्तमान अध्यक्षसमेत हुनुहुन्छ । उहाँकै नेतृत्वमा हालैमात्र नेपालका माउन्टेन लिडरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएको थियो ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन आवासीय गृहका प्रमुख पुष्पराज भट्टले खोजीखोजी आवास गृहका सबैलाई न्यानो कपडा वितरण गरेकोमा दावा गीयर र सञ्चालकहरुप्रति आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, १२ माघ २०८१ २०:२३
प्रतिक्रिया दिनुहोस्