Logo

खुम्बुपासाङल्हमु गाउँपालिकाका वडा अध्यक्ष शेर्पाद्वारा वडाबासीलाई ज्याकेट वितरण


सोलुखुम्बु ।  खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष फुनुरु शेर्पाले ३ सय बढीलाई डाउन ज्याकेट वितरण गर्नुभएको छ । लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध शेर्पाले आफ्नो वडाभित्रका अपांगता भएका व्यक्ति, वृद्धबृद्धा, एकल महिला, विद्यालयका शिक्षक, गुम्बाका लामा गुरु, प्रहरी, वडाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई झण्डै ९ लाख रकम बराबरको ३ सय २१ वटा ज्याकेट वितरण गर्नुभएको हो ।

ज्याकेट वितरणका लागि ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसनका डाइरेक्टर पासाङ छिरी शेर्पाले दुई लाख, ओङछु शेर्पा र टानका प्रथम उपाध्यक्ष सनम शेर्पाले ५० हजार, खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ का कांग्रेस सभापति मिङ्मा शेर्पाले ५० हजार, समाजसेवी पेमा छेवाङ शेर्पाले ४० हजार, पर्यटन व्यवसायी निमा छिरी शेर्पाले ३० हजार, सोनाम गेल्जेन शेर्पाले २० हजार र ४ नं वडा सभापति पासाङ दावा शेर्पाले १० हजार सहयोग गर्नुभएको हो भने बाँकी व्यक्तिगत सहयोगमा वडा अध्यक्ष शेर्पाले वडाबासीलाई ज्याकेट प्रदान गर्नुभएको हो ।

यसअघि पनि खुम्बु क्षेत्रमा शेर्पाले थुप्रै सामाजिक कामहरू गर्नुभएको छ । आफ्नो पालिकाभित्र शेर्पाले अस्पताल बनाउनुभएको छ । जसबाट खुम्बु क्षेत्रका सुत्केरी तथा गर्भवती महिलाले प्रभावकारी सेवा पाएका छन् । यस्तै उहाँले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई निशुल्क शिक्षाको व्यवस्था मिलाउनुभएकाे छ ।

शेर्पाको सहयोगमा चौरीखर्क माविमा १ सय ५५ भन्दा धेरै विद्यार्थीले निशुल्क शिक्षा पाइसकेका छन् । पैँयामै १९ किलोवाटको हाइड्रोपावर बनाउनुभयो । जसबाट १ सय ३० भन्दा धेरै घरपरिवार लाभान्वित छन् ।

प्रकाशित मिति : मंगलवार, २२ माघ २०८१ २०:५२
प्रतिक्रिया दिनुहोस्