कोरोना भाइरस र भ्रमण वर्ष २०२०
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामै हामीलाई हलुवामा बालुवा भएको छ । हालसम्म वैज्ञानिकहरूले पुष्टि गर्न बाँकी नै रहेको कोरोना भाइरसले विश्वभरि आतङ्कित बनाएको छ । चीनबाट सुरु भएको यो भाइरसकै कारण विश्व स्वास्थ्य संगठनले संसारैभरिको स्वास्थ्य क्षेत्रमा संकटकालको घोषण गरि सकेको छ भने यो पंक्ति तयार गरुन्जेल चीनमा झन्डै ६ सय ५० जनाको अन्त्य भइसकेको र ३० हजार व्यक्ति यसबाट संक्रमित भएको खबर बाहिर आएको छ ।
चीनको भाइरस प्रभावित क्षेत्रमा रहेका अन्य विदेशीहरू तत्कालै फिर्ता भए । तर, नेपालीहरूलाई नेपाल फर्काउन ढिलो भई स्वास्थ्य मन्त्रालय घेर्नसमेत नेपालीहरू पुगिसकेका छन् । यता चीनतर्पmका हाम्रा नाकाहरू बन्द हुँदा स्थानीय मात्र होइन, आवतजावत गर्ने धेरै स्वदेशी विदेशीहरू बढी प्रभावित हुनुका साथै व्यापार–व्यवसायमा समेत यसले पार्ने असर धेरै छ ।
हामीले मनाइरहेको भ्रमण वर्षको सन्दर्भमा समेत चीनबाट धेरै पर्यटकहरू यहाँ आउने आकलन गरिएको थियो । गत जनवरी महिनाको पर्यटक आगमनको तथ्यांक जम्माजम्मी ६६ हजार हेर्दा पनि हामीलाई हलुवामा बालुवा लागेजस्तो हुन आएको देखिन्छ । हामीले सोचेको २० लाख पर्यटकको संख्या पुग्न प्रतिमहिना डेढ लाखभन्दा बढी हुनु पर्छ ।
आधुनिक युगलाई पर्यटकीय युग भन्दा हुन्छ । विश्वभरि यसक्षेत्रको प्रभाव अधिक छ । संसारभर पर्यटन क्षेत्रबाट हाल १० करोडले रोजगारी प्राप्त गरेका छन् । वल्र्ड टुरिज्म अर्गनाइजेसनका अनुसार संसारमा आतिथ्यता सत्कारकै लागि भनौँ पर्यटन क्षेत्रकै लागि २.२ ट्रिलियन यूएस डलरको लगानी छ । संसारभर घुमफिर गर्ने, बिदा मनाउने, मनोरन्जन गर्ने बानी प्राय: आर्थिक हैसियत भएका सबैलाई बसेको छ । नेपाल पर्यटकीय गन्तव्यको पहिचान भएको देश हो । र पनि पर्यटनक्षेत्रमा संलग्न जनशक्तिको गुणस्रीयतामा कमी छ यहाँ ।
यस क्षेत्रमा आवश्यक सक्षम जनशक्ति तया गर्ने क्रममा सरकारी स्तरमा पर्र्यटन मन्त्रालय मातहत पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान छ । वि.सं. २०२९ सालमा स्थापना भएको यस संस्थाले विभिन्न खाले जनशक्तिको तयारी गर्छ । ४० भन्दा बढी कलेज एवं अन्य शैक्षिक संस्थाहरूले यस्तै खाले जनशक्ति निर्माण गर्दैछन् । यस क्षेत्रको जनशक्ति साविकभन्दा बढे पनि गुणस्तरमा बढोत्तरी भएको छैन । तालिम प्रप्त जनशक्ति ७० प्रतिशत त बिदेसिएका छन् ।
साँच्चै भन्नुपर्दा टुर गाइडकै कमी छ यहाँ । प्रतिष्ठान आपैmँले तयार गरेका टुर गाइड ५ हजारजति मात्र छन् । प्रतिष्ठानले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, पाल्पा, चितवन आदि क्षेत्रमा यस्ता जनशक्ति तयार गरिरहेको छ । हामीकहाँ पर्यटनक्षेत्रमा तालिम प्राप्त जनशक्ति समग्रमा ५२ हजारभन्दा बढी रहेका र आगामी ५ वर्षभित्र यस्तो जनशक्ति दोब्बर गराउने सरकारी अवधारणा देखिन्छ ।
सातै प्रदेशमा प्रतिष्ठानले टुर एवं ट्रेकिङ गाइड तयार गर्ने लक्ष्य पनि लिएको देखिन्छ । टुर एवं ट्रेकिङ गाइडहरू औपचारिक अनौपचारिक रूपमा झन्डै डेढ लाखले यहाँ रोजगारी पाएका छन् । २० लाख पर्यटक भित्र्याउने सरकारी नाराका लागि यो संख्या कम हो ।
हिजोआज सबैको मुखमा सुनिन्छ : पर्यटन, टुरिस्ट, पर्यटक, टुरिजम आदि । टुरिजम वास्तवमा फ्रेन्च शब्द हो । १९ औं शताब्दीदेखि यस शब्दले बढी प्रश्रय पाएको हो । पर्यटक भनौँ वा टुरिस्ट शब्द लेटिन भाषा हो । कुनै कामले, उद्देश्यले मुलुकभित्र वा बाहिर घुम्न जाने व्यक्ति वा समूह भनेको पर्यटक हो । पर्यटक आन्तरिक र बाह्य दुई थरीका हुन्छन् ।
पर्यटन भन्नु र पर्यटक भन्नु पर्याय हुन् । डब्लूटीओको परिभाषाअनुसार स्वदेश वा अर्को देशमा बिदा, बिजनेस वा कुनै मिसनले भ्रमण गर्नेलाई पर्यटक भनिन्छ । समयावधि भने एक दिनदेखि सय दिनसम्मको बसाइ उद्देश्य राखी भ्रमण गर्नेलाई पर्यटक भनिन्छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
आएका २० लाख पर्यटकलाई कुन विशेष क्षेत्रमा केन्द्रित गराउने अधिकांशको रुचि के हो ? हाम्रो प्राथमिकता के हो ? बजार कुन हो ? यस विषयमा खासै चासो राखेको देखिँदैन । पर्यटकहरूलाई सन्तोष गराउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने उनीहरूबाट यहाँ बढीभन्दा बढी खर्च गराउने तरीकाहरू के हुन् ? तिनको पनि पहिचान हुन जरुरी छ ।
पर्यटक भित्र्याउन गरिने पूर्वाधर विकासमा पनि हामी पछाडि छौं । राम्रो सडक, खानेपानी, सरसफाइ, शौचालयको प्रबन्ध, धूवाँधूलोरहित यात्रा, दुर्घटनारहित र भरपर्दो सुरक्षा पनि न्यूनतम आवश्यकताका विषयहरू हुन् ।
नेपालमा आउने पर्यटक भौतिक सुख सुविधाका लागि भन्दा पनि आध्यात्मिक शान्तिका लागि हो । प्राचीन समयदेखि नै देश देवभूमि, वैदिक भूमि, पवित्र भूमि हो । यो अन्तर्राष्ट्रिय स्तरमा बुझाउनका लागि एकमात्र विश्वकै नमुना पूर्वीय धर्म–संस्कृतिको धरोहर देश भन्ने पहिचान देशले गुमाउनु हुँदैन । देश धर्म–निरपेक्षको पंक्तिमा परेको छ । तथापि हाम्रो मुलुकमा अधिकांश पर्यटकीय तीर्थ क्षेत्र हिन्दू धर्म, दर्शन, संस्कृतिमा आधारित छ ।
पछिल्लो समय भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भारतका ख्यातिप्राप्त धर्मगुरुलाई सद्भावना राजदूतका रूपमा आत्मसात् गरेको देखिन्छ, धार्मिक मुलुक भारतमा मूम्बई, चेन्नई, दिल्लीजस्ता विभिन्न सहरमा यसको प्रचार–प्रसार गरिएको देखिन्छ । चीन, हङकङ, अमेरिका, युरोपसम्म अभियान भनौं नाराको पहुँच पुगेको देखिन्छ । चिनियाँ भाषामा नेपालबारे प्रवद्र्धनात्मक कार्यक्रमहरू भएको देखिन्छ । भाषा प्रशिक्षण, तालिम, गोष्ठी, सेमिनारमा कमी छैन ।
हो, भ्रमण वर्ष पूरा गर्न केवल पर्यटकको संख्या वृद्धि पर्याप्त होइन । नेपाल आउने तर बसाइ अवधि कम राख्ने विगतको समस्या छ । हाल पर्यटकको औसत बसाइ एक साताभन्दा पनि कम छ । बसाइ अवधि नबढाएसम्म र उनीहरूको औसत खर्च वृद्धि नगरेसम्म यहाँको राजस्वमा बढोत्तरी हुन्न ।
नेपाल पर्यटन बोर्डको भनाइ छ : एक पर्यटकले सन् २०१७ मा प्रतिदिन ५४ डलर खर्च गर्ने गरेको छ । सन् २०१८ मा १२.६ दिन पर्यटक बसाइ अवधि थियो भने सन् २०१९ मा यो घटेर १२.४ दिनमा रह्यो । यसरी समयावधि र खर्च गर्ने औसत रकम घट्नु भनेको भ्रमण वर्ष सफलताको राम्रो संकेत होइन । अधिकांश पर्यटकहरूको स्रोत मुलुक हाम्रो भारत र चीन नै हो । ती दुवै देशका केही प्रतिशतले मात्र नेपालको भ्रमण गरे पनि यहाँ अटाउन सकिन्न ।
भ्रमण वर्ष २०२० आरम्भको ६० दिन अघिसम्म नेपालमा पर्यटक आवागमनको संख्या विगतभन्दा ८ प्रतिशतले बढेको छ । बाँकी ६० दिनसम्म पर्यटकको संख्या १० प्रतिशतले बढ्ने पर्यटन बोर्डको भनाइ छ । सन् २०१८ मा पर्यटकको संख्या ३० प्रतिशतले र सन् २०१९ मा पनि ३० प्रतिशतले बढेको भए सन् २०२० मा पर्यटक संख्या २० लाख पुग्न कठिनाइ थिएन । खर्च रकम, उनीहरूको संख्यामा कमी, बसाइ अवधि यी ३ विषय विश्लेषण गर्दा हाम्रो नारा भ्रमण वर्ष २०२० को पूर्ण सफलतामा चुनौती देखिन्छ ।
पर्यटन वोर्डकै तथ्यांकमा हामीकहाँ तारे होटलको संख्या सन् २०१८ मा १२९, पर्यटकीय स्तरको होटल १ हजार १२५, बेड संख्या ४० हजार ८५६ थियो । कुल ट्राभल एजेन्सी ३ हजार ५०८, ट्रेकिङ एजेन्सी २ हजार ६४९, टुरिस्ट गाइड ४ हजार १२६, ट्रेकिङ गाइड १६ हजार २४८ छन् यति संख्याले पनि २० लाख पर्यटकका पूर्वाधार कमीनै मान्नुपर्छ ।
प्राचीन नेपाल लिच्छविकालमा चिनियाँ यात्री फाइयानले हाम्रो कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास भेटिन्छ । पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री दु:ख साङले नेपाल भ्रमण गरी नेपालकै विषयमा धेरै कुरा लेखेको इतिहास छ । मल्लकालीन इतिहास हेर्दा भोट चीन व्यापारिक कारण विदेशीहरू नेपाल आउने गरेको पाइन्छ ।
नेपालीहरू पनि विदेश भ्रमण गर्ने गरेको पाइन्छ । नेपालमा अरनिको, नेपाली भृकुटीको कथा हामीले विद्यालय कक्षामै पढेका हौं । त्रेतायुगमै रामजानकी बिहे, द्वापर युगमा श्रीकृष्णको नेपाल यात्रा धेरै छन् यस्ता युगीन इतिहासहरू ।
वि.सं. १९०६ मा आइपुग्दा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रा, उनका टिममा ५०औं जनाको यात्रु रहेका, पछिल्लो समय भारत–नेपाल, बेलायतमा दूतहरूको आदान–प्रदान भएको पाइए पनि वि.सं. २००७ सम्म नेपालले बाह्य क्षेत्रमा ठूलो प्रगति हासिल गरेको भने देखिदैन ।
वि.सं. २००८ मा नेपाल विश्व पर्यटन संघको सदस्य बनेको र वि.सं. २०१४ मा पर्यटन बोर्ड, वि.सं. २०१६ मा पर्यटन निर्देशनालय, वि.सं. २०१८ मा पर्यटन विभाग, वि.सं. २०२८ मा पर्यटन विकास समिति, वि.सं २०३३ मा पर्यटन मन्त्रालय, वि.सं. २०३५ मा पर्यटन ऐन, वि.सं २०५२ मा पर्यटन नीति आउनुले सांगठनिक स्वरुपको इतिहास तय हुँदै आएको देखिन्छ ।
पर्यटनको महत्व थपिँदै आएको छ । सन् २०११ मा पनि पर्यटन वर्ष मनाइयो, जसबाट नेपालप्रतिको विश्वको हेराइमा बढोत्तरी भएको छ । हालै भएको दक्षिण एसियाली खेलकुद सागमा नेपालले प्राप्त गरेको स्वर्ण पदकले यसमा अझै बढोत्तरी हुने भएको छ ।
पर्यटन वोर्डको तथ्यांकअनुसार सन् १९९७ मा ४ लाख २१ हजार ८५७ जना, सन् १९९८ मा ९ प्रतिशतले बढेर ४ लाख ६२ हजार ६८४ जना, भ्रमण वर्ष ९८ मनाउने क्रममा ५ लाखको लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढीको उपस्थिति थियो ।
सन् १९९९ मा ६ प्रतिशतले बढेर यो संख्या ४ लाख ९१ हजार ५०४ जना पर्यटक नेपाल आएको देखिन्छ । बीचमा देश अशान्तिको भुमरीमा फस्यो, पर्यटक आकर्षित भएनन् । सम् २०१६ देखि केही सुधार भएको छ । सन् २०१९ मा ९ लाख ७५ हजार ५७५ जनाभन्दा बढी पर्यटक नेपाल आएका देखिन्छन् ।
यसै वर्ष एयरपोर्टको समस्या, डेंगुजस्ता रोगको महामारी पनि कारणहरू बन्न पुगेका छन् । सन् २०१८ मा ११ लाख ७२ हजार पर्यटक भित्रिनुले यी कुरामा शंका गर्ने ठाउँ रहन्छ ।
मुलुकमा ३ वर्षसम्म चालू रहेको चौधौं योजना यसै वर्ष २०७६ असारमा सम्पन्न भएको छ । यस योजनाको अन्तसम्म विदेशी पर्यटक आगमनको संख्या १२ लाख पु-याउने, विदेशी पर्यटकको बसाइ अवधि सरदर १५ दिन पु-याउने, सरदर दैनिक खर्च ६० अमेरिकी डलर पु-याउने लक्ष्य लिएको थियो ।
त्यस्तै पर्यटन क्षेत्रबाट योजनाको प्रथम वर्ष २५ हजार व्यक्ति, दोस्रो वर्ष ४० हजार व्यक्ति र अन्तिम तेस्रो वर्षमा ४५ हजार व्यक्तिले थप रोजगारी पाउने लक्ष्य पनि योजनाले लिएको थियो । प्राकृतिक, साहसिक, ऐतिहासिक, सांस्कृतिक सबै दृष्टिले नेपाल विश्वकै एक पर्यटकीय गन्तव्य हो । जीवन्त संस्कृति बोकेको नेपालले सर्वोच्च शिखर सगरमाथा पनि बोकेको छ ।
हिन्दूहरूको शिरभाग पशुपति क्षेत्र, बुद्धिस्टहरूको केन्द्र भाग लुम्बिनी यहीँ छ । हिमाली, पहाडी र तराईका भौगोलिक विविधता, समुद्र सतहदेखि ७० मि. मात्रको उचाइ पनि यहीँ रहेको छ । विश्वका दुर्लभ पाटे बाघ, काँडे भ्याकुर, धेरै प्रजातिका चरा, जीवित देवी कुमारी र असंख्य चाडपर्व, जात्राहरूले नेपाल र नेपालीको छुट्टै चिनारी छ ।
पर्यटकीय गन्तव्यको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थलको चिनारी दिँदै पर्यटन उद्योगलाई फस्टाई देशको समृद्धिको यात्रा तय गर्ने प्रशस्त सम्भावना छन् यहाँ । पर्यटकीय पूर्वाधारको विकासबाट रोजगारीको सिर्जना, गरीबी न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, जीवनस्तरमा सुधार हाम्रो आवश्यकता हो । राजनैतिक संक्रमण लामो समयसम्म रहेकाले पर्यटन विकासमा गम्भीर चोट लाग्न पुग्यो विगतमा । पर्यटन पूर्वाधार विकासतिर खासै चासो भएन ।
विनाशकारी भूकम्पले अर्को घाटा लगायो । आर्थिक समृद्धिका लागि पर्यटन विकास भन्ने राज्यको सोंच छ । यसका लागि पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने सरकारी लक्ष्य देखिन्छ ।
देशलाई आकर्षक तथा थप सुरक्षित गन्तव्यका रूपमा विकास गर्दै पर्यटको आगमनलाई वृद्धि गर्ने जनताको आयस्तरमा बढोत्तरी गर्ने सरकारी लक्ष्य देखिन्छ । पर्यटकीय गन्तव्यस्थल र उपजमा विविधीकरण र विकास गर्ने नेपालमा प्रमुख पर्यटकीय उपजहरूको बजारीकरण गर्ने, प्रवद्र्धन गर्ने, सरकारी उद्देश्य देखिन्छ । यसका लागि राज्यले लिएको रणनीति हेर्दा पर्यटन विकास गर्न सार्वजनिक, निजी, सरकारी एवं सामुदायिक क्षेत्रमा साझेदारी र सहकार्य गर्ने देखिएको छ ।
ग्रामीण पर्यटनमार्फत यस क्षेत्रलाई जनस्तरसम्म पु-याउने रणनीति देखिन्छ । मुलुकका सबै मौसममा पर्यटकीय क्रियाकलाप सञ्चालनका लागि आन्तरिक पर्यटन लागि वैदेशिक लगानी आकर्षित गर्ने रणनीति सरकारले आफ्नो योजनामा राखेको देखिन्छ । यसका लागि पूर्वाधारको विकास, संस्थागत सुधार र पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम तय हुनुपर्छ ।
यता जात्रैजात्राको देश घोडे जात्रा, इन्द्रजात्रा, कुमारी जात्रा, बिस्केट जात्रा, भोटोजात्रामा विदेशीहरूको उपस्थिति देखिनु अनि भक्तपुर, काठमाडौं पाटन क्षेत्रमा स्मारक, स्तूप, मन्दिर, चैत्यहरूमा देखिने विदेशीहरूको घुइँचोले पनि नेपालको मौलिक कला, संस्कृतितर्फ विदेशीहरू झुम्मिने गरेको तथ्य देखिन्छ ।
वातावरणीय समस्या, प्रदूषणजस्ता विषयहरूम राम्रो ध्यान दिन सकिएको छैन । स्थानीय साधनको प्रयोग गर्दै होमस्टेको अवधारणाका लागि पर्यटक स्तरीय कोठा, शौचालय, वातानुकूलित अवस्था सिर्जना गर्न सकिएको छैन । विश्वभरि नै लोकप्रिय भएको पर्यावरणीय पर्यटनमा हामीले ध्यान पु-याउन सकेका छैनौं । साभार काराेबार दैनिक