Logo

कोरोना कहरबीच पाँच महिनामा भित्रिए ६ हजार पर्यटक


काठमाडौं, ७ पुस । चालु आर्थिक वर्षको पहिलो ५ महिना (साउन-मंसिर) सम्म ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले दिएको जानकारी अनुसार मंसिर महिनासम्म उक्त संख्यामा पर्यटक आएका हुन् ।

यस अवधिमा अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएका छन् । ५ महिनामा अमेरिकाबाट १३१७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट ९ सय १ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

चीनबाट ५ सय ७६ जना र भारतबाट ४३१ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । टर्कीबाट ३०३ जना पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ सय ३५ जना पर्यटक नेपाल आएका छन् ।

रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १ सय ८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १ सय, श्रीलंकाबाट १०२ जना आएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारी नेपाल आएको तथ्यांक रहेको छ ।

सरकारले अहिले जुनसुकै मुलुकबाट आउने पर्यटकका लागि समेत आगमन खुला गरेको छ । पछिल्लो समय भारतबाट समेत हवाई उडान सुचारु भएको छ ।

भारतबाट जहाज चढेर आउने भारतीय नागरिकलाई समेत पर्यटकका रुपमा गणना गरिन्छ । सोहीकारण आगामी दिनमा पर्यटक आगमन संख्या अझ बढ्ने देखिएको छ ।

यो अवधिमा नेपालीको आगमन भने १ लाख ५४ हजार २२१ जना रहेको छ । नेपालबाट ७८२३४ जना नेपाली विदेश प्रस्थान गरेको तथ्यांक विभागको छ । यो अवधिमा ६१ हजार ३५१ पुरुष र १६ हजार ८७८ जना महिलाले नेपाल छाडेका छन् ।

त्रिभुवन विमानस्थलबाट ५ महिनामा नेपाली र विदेशी गरी कुल १ लाख ६० हजार ५ सय १ जना यात्रु नेपाल भित्रिएका छन् । यो अवधिमा सोही विमानस्थलबाट ८९ हजार ८ सय ९० जना यात्रु विदेश प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : मंगलवार, ७ पुष २०७७ १५:४९
प्रतिक्रिया दिनुहोस्