Logo

सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रेको माप्य दुधकोशीद्धारा शिलान्यास, झण्डै ४१ करोडको काम हुँदै


सोलुखुम्बु, ५ असोज । सोलुखुम्बुको सल्लेरी सेर्गाखोपबाट सुरु भएर माप्य दुधकोशी गाउँपालिकाको सिलगुढी, काँकु, बासा हुँदै खुम्बु (सगरमाथा) क्षेत्र जोड्ने सडक कालोपत्रे परियोजनाको पुनः शिलान्यास गरिएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत संघीय सरकारको आर्थिक लगानीमा सुरु हुन लागेको उक्त परियोजनाको शुक्रबार प्रतिनिधिसभा सदस्य मानबीर राई, प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारी र माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईले शिलान्यास गरेका हुन् ।

गत असोज ३ गते मात्रै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले सोही सडक कालोपत्रेको शिलान्यास गरेका थिए । माप्य दुधकोशी गाउँपालिकासँगको सहमति विपरित नगर प्रमुख शेर्पाले शिलान्यास गरेको भन्दै आपत्ति जनाएका थिए । नगर प्रमुखको शिलान्यासपछि त्यसविरुद्ध गाउँपालिकाले प्रेस विज्ञप्ती नै निकालेको थियो । त्यसको ठीक दुई दिनपछि माप्य दुधकोशी गाउँपालिकाले पनि तामझामका साथ शिलान्यास गरेको हो ।

शिलान्यास कार्यक्रमको हिसाबले यो तेस्रो हो । जबकी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरीका निर्वाचन क्षेत्र रणानीतिक सडक परियोजनाको एकैपटक शिलान्यास गर्दा यसको पनि शिलान्यास भएको हो । यसरी शिलान्यासमा होडबाजी चलेपछि सरोकारवाला तथा स्थानीयबासी भने यसप्रति त्यत्ति सन्तुष्ट छैनन् ।

शिलान्यासमा होडबाजी गर्नुभन्दा यथाशिघ्र कालोपत्रेको काम अघि बढाउन र गुणस्तरीयताका लागि सबैले पहल लिनुपर्नेमा अधिकांशको जोड रहेको छ । त्यसोत शुक्रबार शिलगुढी डाँडामा आयोजित माप्य दुधकोशी गाउँपालिकाको शिलान्यास कार्यक्रममा बोल्ने अतिथिहरुले पनि शिलालेखमा कसको नाम लेख्ने भन्ने विषयमा प्रतिस्पर्धा भएको बताए । उनीहरुले नगर प्रमुख शेर्पातिर इंगित गर्दै नामको लागि सहमति तोडेको बताएका थिए ।

सल्लेरी–सिल्गुडीडाँडा–काँकु बासा–ओर्लाङघाट–जुभिङ–खरिखोला–लुक्ला–खुम्बु सडक अन्र्तगत पहिलो चरणमा करिब १० किलोमिटर सडक कालोपत्रे हुने जनाइएको छ । यस सडक खण्डको केही भाग मात्रै नगरपालिकामा पर्छ भने अधिकांश सडक माप्य दुधकोशी गाउँपालिकामा पर्दछ ।
यसपटकको ठेक्का र माप्य दुधकोशी गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाबीचको दुई पक्षीय सहमतिअनुसार कालोपत्रे गर्नुपर्ने करिब ७ किलोमिटर सडक सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने र बाँकी सडक कालोपत्रे माप्य दुधकोशी गाउँपालिका क्षेत्रमा पर्ने बताइएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मानबीर राईले जिल्ला सदरमुकामबाट सुरु भएको खुम्बु जोड्ने सडक कालोपत्रेले पर्यटनको क्षेत्रमा ठूलो महत्व राख्ने बताए । नगर प्रमुख शेर्पामाथि कटाक्ष गर्दै राईले सस्तो लोकप्रियता र प्रचारबाजीमा लाग्नु विकासका लागि घातक हुने बताए ।

कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले नगरपालिका मेयर शेर्पातर्फ इंगित गर्दैसस्तो लोकप्रियताका लागि दौडीनेहरु गन्तव्यमा नपुग्ने बताए ।

यस्तै माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले नगरपालिका र गाउँपालिकाबीचको सहमतिको उलंन गर्दै नगर प्रमुख शेर्पाले एकलौटी गरेपछि त्यसलाई सच्याउनका लागि शिलान्यास कार्यक्रम आयोजना गर्नुपरेको बताउनुभयो । सगरमाथा क्षेत्र जोड्ने लाईफ लाईन सडकको कालोपत्रेले पर्यटन प्रर्वद्धनमा ठूलो महत्व राख्ने बताए ।

माप्यको कृषि उपजको बजारीकरणका लागि खुम्बुको पर्यटन आधारस्तम्भ रहेको बताउँदै सडक कालोपत्रे आफुहरुको पहिलो प्राथमिकता भएको बताए । एकलौटी शिलान्यास गरेकोप्रति रोष प्रकट गर्दै मेयर शेर्पाले दीगो राजनीति गर्ने अभ्यासबाट चुकेको टिप्पणी उनले गरेका छन् ।

माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राईले जिल्लाको विकासमा सबै जनप्रतिनिधि निस्वार्थ भावनाले अग्रसर हुनुपर्नेमा जोड दिए ।

०८३ असारभित्र कालोपत्रे सक्ला ?
सोलु दुधकुण्ड नगरपालिकाको सेर्गाखोपबाट सुरु भई माप्य दुधकोशी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने यो एकमात्र सिधा सडक खण्ड हो । जिल्लाको सामाजिक, आर्थिक र पर्यटन बिकासको निम्ति खुम्बु क्षेत्रलाई छिटोभन्दा छिटो सडक सञ्जालसँग जोड्ने उद्देश्यका साथ तत्कालिन संघीय सांसद हेमकुमार राई ‘शूरवीर’ले २०७६ साल फाल्गुन २५ गतेको दिन यस सडक खण्ड कालोपत्रेलाई निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा समावेश गर्न भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गर्नुभएको थियो ।

सोहीअनुरुप निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा उक्त परियोजना छनोट भएको थियो । २०७९ पुस २७ गते आह्वान भएको टेण्डरअनुसार ललितपुरको चम्पेश्वर पी. एम. निर्माण जे.भि. नामक कम्पनीले सोको निर्माणको जिम्मा पाएको छ । सो परियोजनाको कुल लागत ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँ रहेको छ ।

माप्य दुधकोशी गाउँपालिकाले गरेको डिपिआरअनुसार सिलगुढी डाँडाबाट कालोपत्रे सुरुवात गर्नेगरी टेण्डर प्रक्रिया अघि बढिरहेको बेला नगरपालिकाले सेर्गाखोप जिरो पोइन्टबाटै कालोपत्रे गर्नुपर्ने पहल लिएपछि उत्पन्न अन्यौलताबीच दुई स्थानीय तहबीच छलफल भएको थियो ।

विभिन्न चरणको छलफलपछि नगरपालिकाको सेर्गाखोप जिरोपोइन्टबाटै कालोपत्रे सुरु गर्ने दुई पक्षीय सहमति भई काम अघि बढाईएको थियो ।
निर्माण कम्पनीले २०८० असार २७ गतेबाट कालोपत्रेको काम सुरु गरी २०८३ असार २७ गते सम्पन्न गरिसक्नुपर्ने छ । अहिले सिलगुढी डाँडाबाट माप्य दुधकोशीतर्फको सडक खण्ड चौडा गर्ने तथा गे्रट मिलाउने काम गरिरहेको छ ।

 

प्रकाशित मिति : शुक्रबार, ५ आश्विन २०८० २०:५१
प्रतिक्रिया दिनुहोस्