नेपालको निर्यात प्रवर्द्धन : आजको चुनौति र अवसर
निर्यात वृद्धि आत्मनिर्भर अर्थतन्त्रको आधारभूत सर्त हो । विदेशी मुद्रा आर्जन, उद्योग र रोजगारी विस्तार, व्यापार घाटा कम गर्नुका साथै समग्रमा राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्नका लागि निर्यातले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कृषि, जडिबुटी, हस्तकला, जलविद्युत र सूचना प्रविधि जस्ता क्षेत्रमा नेपालसँग उल्लेखनीय निर्यात सम्भावना रहेपनि आज त्यसलाई हामीले सार्थक बनाउन सकिरहेका छैनौं । उत्पादन, रोजगारीका पक्षमा ध्यान दिन नसक्दा हरेक दशक देशमा राजनीतिक आन्दोलन तथा उथलपुथल सिर्जना भई स्थायी निकास निकाल्न सकिएको छैन । पछिल्लो जेनजी आन्दोलनको जग पनि नेपालमा रहेको आर्थिक कमजोरीसँग नै जोडिएको छ । मुलुकको व्यापार घाटा चुलिँदो छ भने निर्यात सन्तोषजनक स्तरमा पुग्न सकिरहेको छैन ।
नेपालको निर्यात वृद्धि हुन नसक्नुका पछाडि विभिन्न संरचनागत र नीतिगत समस्याहरु रहेका छन् । निर्यात प्रवद्र्धन नीति प्रभावकारी नहुनु, उत्पादन लागत उच्च हुनु, अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर प्रमाणिकरणको अभाव, ढुवानी तथा भन्सा प्रक्रिया जटिल हुनु, औद्योगिक पूर्वाधार कमजोर हुनुलगायतका कारण मुलुकको निर्यात वृद्धि हुन सकिरहेको छैन । अतः निर्यात वृद्धि गर्नका लागि सरकारी तवरबाट निर्यातमैत्री उद्योग नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने, एकद्धार प्रणालीमार्फत निर्यात प्रक्रिया सरल बनाउने, निर्यातकर्तालाई सहुलियत ऋण र कर छुटको व्यवस्था, अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल ब्राण्ड प्रवर्द्धन गर्ने, निजी क्षेत्रसँग सहकार्य गरी बजार विस्तार गर्ने जस्ता कदमहरु अभिलम्ब चालिन आवश्यक देखिन्छ ।
नेपालको व्यापार क्षेत्रमा आयत तथा निर्यातको तथ्यांकलाई केलाउँदा गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालको कुल वैदेशिक व्यापार (वस्तुतर्फ) अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १९.२ प्रतिशतले वृद्धि भई रु. २०८१.१५ अर्ब पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १३.३ प्रतिशत र ८६.७ प्रतिशत रहेको छ । समिक्षा अवधिमा नेपालको कुल निकासीमा ८१.८ प्रतिशतले वृद्धि भई रु. २७७.०३ अर्ब तथा कुल पैठारीमा १३.३ प्रतिशतले वृद्धि भई रु. १८०४.१२ अर्ब पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ मा निकासी पैठारी व्यापारको अनुपात १ः१०.५ मा रहेकोमो आर्थिक वर्ष २०८१/०८२ मा निकासी पैठारी व्यापारको अनुपात १ः६.५ रहन आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा निकासी र पैठारी दुबैमा वृद्धि हुँदा व्यापार घाटा ६.० प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा १५२७.०९ अर्ब पुगेको छ । यसरी हेर्दा नेपालको कुल गार्हस्थ उत्पादनको झण्डै २५ प्रतिशत व्यापार घाटा रहेको तथ्यांकले दखाउँछ ।
आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरु सोयाविन तेल, फलाम तथा फलामका उत्पादनहरु, यार्न, सूर्यमूखी तेल, ऊनी गलैँचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, जुस, अलैंची, प्लाईउड, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर विरालाका आहारा, पिना, पश्मिना शल, कपडा, कत्था, पामतेल, चाऊँचाऊँ, सिमेन्ट प्रमुख रहेका छन् ।
त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक (श्रावन–कात्तिक)मा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.१८ प्रतिशतले वृद्धि भई रु. ७०२.९५ अर्ब पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १३.३ प्रतिशत र ८६.७ प्रतिशत रहेको छ । समिक्षा अवधिमा नेपालको कुल निकासी ७७.५१ प्रतिशतले वृद्धि भई रु. ९३.५० अर्ब पुगेको छ भने कुल पैठारी १८.७१ प्रतिशतले वृद्धि भई रु. ६०९.४५ अर्ब पुगेको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ को सोही चौमासिक अवधिमा निकासी पैठारी व्यापारको अनुपात १ः९.७ रहेकोमा चालु आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिमा निकासी पैठारी व्यापारको अनुपात १ः६.५ रहन आएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निकासी र पैठारी दुबैतर्फ वृद्धि भएको हुँदा व्यापार घाटा बढेर गएको छ । यस अवधिमा ११.९९ प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा रु. ५१५.९६ अर्ब पुगेको छ ।
उल्लिखित तथ्य र तथ्यांकबाट समग्रमा निर्यात बढेको देखिएपनि निर्यातको ठूलो भार भटमासको तेल, पाम तेलले थेगेको र भारत केन्द्रित निर्यात भएको देखिन्छ । यसबाट नत स्वदेशी कच्चा पदार्थको उपयोग भएको छ नत पर्याप्त रोजगारी नै सिर्जना हुन सकेको छ । यथार्थ त के देखाएको छ भने नेपालको आन्तरिक उत्पादन कमजोर भई आयतमाथिको निर्भरता बढ्दै गइरहेको, विपे्रषणबाट प्राप्त रकमले व्यापार घाटाको ठूलो अनुपात थेगिरहेको यस अवस्थाले भविष्यमा देशको समष्टिगत अर्थतन्त्रमा गम्भीर संकट निम्तिन सक्ने जोखिम बढ्दै जाने र देश अझै गम्भीर राजनीतिक अस्थिरतामा जान सक्ने अवस्था देखाउँछ । भविष्यमा आउनसक्ने यस्ता जोखिम न्यूनिकरण गरी अनुकुल वातावरण निर्माण गर्नका निमित्त राष्ट्रिय प्रयास (विशेषगरी सरकारी र निजी क्षेत्रको प्रयास) अहिलेको अपरिहार्य आवश्यकता देखिन्छ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको ८१.५५ प्रतिशत योगदान रहेको छ भने कुल रोजगारीमा हाल निजी क्षेत्रको ८५.६ प्रतिशत योगदान रहेको अवस्था छ । त्यसैगरी नेपालको कुल व्यापारको ९५ प्रतिशत भन्दा बढि निजी क्षेत्रले ओगटेको छ । निर्यात क्षेत्रमा नेपालबाट गरिने विजुलीको निर्यातबाहेक सबै वस्तु तथा सेवाको निर्यात निजी क्षेत्रबाटै हुने गरेको छ ।
यो अवस्थाले देशको दु्रततर आर्थिक विकासका लागि राज्य र निजी क्षेत्रको हातेमालोका माध्यमबाट अघि बढ्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ । आजको दुनियाँ सुहाउँदो डिजिटल प्लेटफर्म, मेला, प्रदर्शनी तथा व्यापारिक सञ्जालमार्फत नयाँ बजार खोज्न सहयोग गर्नु हामी सबैको दायित्व हुन आउँछ । सोही कुरालाई ध्यानमा राखी नेपाल निर्यात परिषदले विसं २०७३ बाट निर्यात दिवसलाई देशको निर्यात प्रवर्द्धन, निर्यात व्यवसायमा संलग्न उद्यमीहरुको योगदानको सम्मान र निर्यात अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले एउटा जागरण अभियानको रुपमा सुरुवात गरेको थियो ।
त्यसको निरन्तता स्वरुप नेपाल निर्यात परिषदले व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रसँगको लागत साँझेदारीमा अहिले १०औं निर्यात दिवसलाई भव्य मेलाका रुपमा सञ्चालन गरिरहेको छ । यही मिति २०८२ साल पौष २० र २१ गतेको दिन ठमेलको छाँया सेन्टरमा सञ्चालित उक्त मेला नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्वबारे नीति निर्माता, निजी क्षेत्र र आम नागरिकमा चेतना अभिबृद्धि गर्न, सरकार सम्पूर्ण सरोकारवालाको ध्यानाकार्षण गर्न, निर्यात प्रवर्द्धनमार्फत उत्पादनमुखी, रोजगारी सिज्ृना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्न, हस्तकला, कृषि, घरेलु तथा साना मझौला उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै नेपाल उत्पादनको पहिचान सुदृढ गर्न, निर्यात व्यापारमा देखिएका नीतिगत, संरचनागत तथा व्यापारिक समस्या, चुनौति र अवसरबारे सरोकारवालाबीच खुल्ला संवाद र छलफलको वातावरण सिर्जना गर्नुका साथै सरकार, निजी क्षेत्र, निर्यातकर्ता, वित्तीय संस्था तथा साझेदार नियकाहरुबीच समन्वय र सहकार्यलाई मजबुत बनाउने र यूवा पुस्तालाई निर्यात, उद्यामशीलता र नवप्रवर्तनतर्फ आकर्षित गर्दै स्वदेशमै अवसर सिर्जनामा योगदान गर्न अग्रसर रहेको छ । तपाईहरु पनि आउनुहोस्, सहकार्यको थालनी आजैबाट गरौं ।
(डा. थपलिया नेपाल निर्यात परिषदका वर्तमान प्रथम उपाध्यक्ष हुनुहुन्छ ।)

