आफ्नै रेकर्ड ब्रेक गर्दै कामीरिता २९औं पटक सगरमाथाको चुचुरोमा
तस्वीर: टासी लाक्पा शेर्पा
काठमाडौँ । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान ब्रेक गर्दै आइतबार २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । पर्यटन व्यवसायी टासी लाक्पा शेर्पाकाअनुसार उनले आइतबार बिहान ७:२५ मा सगरमाथाको चुचुरो चुमेर नयाँ कीर्तिमान कायम गर्न सफल भएका हुन् ।
सोलुखुम्बुमा जन्मिएका ५४ वर्षीय शेर्पाले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय बनाएका छन् ।
उनी विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न गएका थिए । यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको छ ।