Logo

थुलुङ दुधकोशी अस्पतालको लागि स्वास्थ्य सामाग्री किन्ने, प्रमुखको जिम्मेवारी चौधरीलाई


सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा अवस्थित दुधकोशी अस्पताल, मुक्लीको प्रमुखको जिम्मेवारी डा. अजय चौधरीलाई दिइएको छ । गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले चौधरीलाई प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यस्तै अस्पताल व्यवस्थापन समितिको बैठकले अस्पतालमा अत्यावश्यक स्वास्थ्य औजार तथा उपकरणहरू खरिद गर्ने र थुलुङ दुधकोशी गाउँ कार्यपालिकाले पारित गरेको अस्पताल फार्मेसी कार्यविधि, २०८१ अनुसार सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । यस्तै अस्पताललाई आवश्यक पर्ने औषधी तथा उपकरण खरिद गर्ने प्रयोजनका लागि पालिकाका स्वास्थ्य शाखा प्रमुख उद्वव ढुङ्गानाको संयोजकत्वमा तीन सदस्य खरिद समिति गठन गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

आजकै बैठकबाट गाउँपालिका भित्रका विपन्न, असहाय नागरिकहरूको स्वास्थ्य उपचार सहजिकरणका लागि आर्थिक सहयोग गर्ने प्रयोजनार्थ गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा ५ सदस्य आर्थिक सहयोग वितरण अध्ययन उपसमिति गठन गर्ने निर्णय गरिएको छ । 

थुलुङ दुधकोशी अस्पतालले पछिल्लो समय शल्यक्रिया सेवा समेत सुरु भएपछि सेवा लिने बिरामीको चाप बढेको छ ।

प्रकाशित मिति : बुधबार, ३० श्रावण २०८१ १९:१५
प्रतिक्रिया दिनुहोस्