Logo

पहिरोमा परि ज्यान गुमाएका ५ जनाको परिवारलाई सोलुदुधकुण्ड नगरपालिकाले जनही ३ लाख राहत दिने


सोलुखुम्बु । तीन दिनको अविरल वर्षाका कारण आएको पहिरोमा परि ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिकाका ५ जनाको परिवारलाई जनही १ लाख नगद राहत उपलब्ध गराईएको छ।

शनिबार आएको पहिरोमा परि ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ९, गोराखानीका ३ जना र वडा नम्बर १० टाप्टीङका दुई जनाको परिवारलाई आइतबार सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट तत्कालका लागि ५० र जिल्ला बिपद् व्यबस्थापन समितिको तर्फबाट ५० हजार गरि नगद १ लाख राहतसहित त्रिपाल र सिरक उपलब्ध गराईएको हो ।

पीडित परिवारसँगको भेटघाट र घटनास्थलको अवलोकनका लागि घटनास्थल पुग्नुभएका नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, उपमेयर गान्धीमाया तामाङसहितको टोलीले सो राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख शेर्पाले घटना अत्यन्तै पिडादायी र दु:खद भएको बताउँदै नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर पीडित परिवारलाई ३ लाख राहत प्रदान गर्ने जानकारीसमेत गराउनुभएको थियो ।

नगरपालिकाको वडा नं १० टाप्टिङ सैलुनका टेकबहादुर मगरको ढुंगा माटोले बनेको काठको छानो भएको जोरनाले घर पहिरोले बगाउँदा उनकी छोरी ३३ बर्षिय कविता मगर र बुहारी २४ बर्षकी रुपु मगर तथा नगरपालिकाकै वडा नं ८ गोराखानी, छेवार बस्ने ङिमा दावा शेर्पाको ढुंगामाटोले बनेको काठको छानो भएको २ तल्ले घर पहिरोले बगाउँदा घर भित्र रहेका २३ बर्षिय ल्हामु शेर्पा, करिब २८ बर्षिय रिना तामाङ र ७ महिनाको फुर्वा लोप्साङ शेर्पाको मृत्यु भएको थियो । घटनामा परी करिब ६० बर्षिय याङजी शेर्पा वाङछु मेमोरियल अस्पताल टाप्टिङमा उपचार भईरहेको छ ।

 

प्रकाशित मिति : शनिबार, १२ आश्विन २०८१ २१:२०
प्रतिक्रिया दिनुहोस्