५० प्रभावशाली महिलाको सूचीमा सोलुखुम्बुकी शेर्पा

अनलाइनखबरले सार्वजनिक गरेको २०८१ सालका ५० प्रभावशाली नेपाली महिलाको सूचीमा सोलुखुम्बुकी सनम डोका शेर्पा छनौट हुनुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा आज विहीबार सार्वजनिक गरेको ५० प्रभावशाली महिलाको सूचीमा सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी ३५ वर्षीया शेर्पा पनि पर्न सफल हुनुभएको हो ।
राजधानीमा एक समारोहका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सूची सार्वजनिक गर्नुका साथै छनोटमा परेकाहरूलाई सम्मान गर्नुभयो । सोनाम डोका शेर्पा सामाजिक संस्था ‘द स्मल वल्र्ड’ की संस्थापक हुनुहुन्छ ।
उहाँ १० वर्षदेखि सोलुखुम्बुका दुर्गम गाउँहरूमा बालिका शिक्षा र महिला सशक्तीकरण लगायत सामाजिक क्षेत्रको कार्यमा सक्रिय रहनुभएको छ ।
बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय काम गरेबापत शेर्पालाई प्रभावशाली महिलाको सूचीमा राखेको अनलाइन खबरले जनाएको छ ।
यसपटकको निर्णायक समिति संयोजकमा पूर्वन्यायाधीश मीरा खड्का र सदस्यहरूमा स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र, उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले रहनुभएको थियो ।