Logo

मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई


काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।

७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।

सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको हिमाली गाउँ खुम्जुङमा जन्मनुभएका आङछिरिङ शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत हुन् । सालिन, निडर र निस्वार्थ भावले युक्त शेर्पालाई पर्वतीय पर्यटनको ज्ञाताको रुपमा चिन्न सकिन्छ । नेपालको अधिकांश पर्वतीय पर्यटन क्षेत्रको गतिविधिको तिथीमिति र हिमालहरुको अवस्थाबारे उहाँ जानकार हुन्, जुन अरु कसैसँग छैन ।
विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्यसमेत रहनुभएका आङछिरिङ शेर्पाले नेपालको सिंगो पर्वतीय पर्यटनको प्रवर्द्धन र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पर्वतीय पर्यटनमा अतुलनीय योगदान पुर्याएवापत शेर्पालाई विश्व पर्वतारोहण महासंघले आफ्नो आठौं मानार्थ सदस्यता प्रदान गरेको हो । जसले उनी नेपालको मात्रै नभई विश्वकै पर्वतीय पर्यटनमा विख्यात व्यक्ति मानिन्छन् । विश्व पर्वतारोहण महासंघमा प्रतिनिधित्व गर्ने शेर्पा सिंगो एसियाबाट दोस्रो हुन् भने नेपालबाट पहिलो ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गरेका शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण गराईसकेका छन् । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएवापत अहिलेसम्म उनले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानसमेत प्राप्त गरिसकेका छन् ।

 

प्रकाशित मिति : बिहीबार, १२ असार २०८२ २२:२६
प्रतिक्रिया दिनुहोस्